sunwal

संकटको समयः धैर्य गरौं, राज्य र नागरिकले कर्तव्य पुरा गरौं

27

मोहन बस्याल
कुनै पनि सरुवा रोग आफैंमा खतरनाक हुन्छन् । त्यसमाथी भाईरसबाट सर्ने रोग अझ बढि खतरनाक हुन्छन् । अहिले विश्वका कुना कुनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुगेको छ । यसले मानव जाति माथि ठूलो संकट र त्रास उत्पन्न गराएको छ । आर्थिक अवस्था र स्वास्थ्यका आधुनिक सुविधाले सम्पन्न मुलुक पनि यो समस्याबाट मुक्त हुन नसकेकोले अन्य कम विकसित देशहरु अझ बढि आक्रान्त छन् र यसको जोखिममा बढी छन् ।

संयम, निर्विकल्प
अहिलेसम्म औषधि निर्माण भई नसकेका कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने यो रोगको नियन्त्रण कठिन छ । त्यसैले एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने क्रम रोक्न विभिन्न मुलुकले मानिसको ओहरदोहोर कम गर्न बन्दाबन्दी (लक डाउन) को उपाय अगाडी सारेका छन् । यो उपाय प्रभावकारी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बन्दाबन्दीका कारण विभिन्न समस्या सिर्जना भएका छन् तर औषधि उपचारको टुँगो नभएको रोग प्रसार हुने क्रम रोक्न यसको विकल्प नदेखिएकाले संयम भएर लकडाउनको समयावधि कटाउनु अहिलेको आवश्यकता हो ।

आशा र आत्मबल
औषधि नभेटिएपनि अहिलेसम्म चारलाख भन्दा बढि मानिसहरु यसको संक्रमणबाट मुक्त भएको देखिएको छ । उच्च आत्मबल भएका र रोग प्रतिरोधात्मक क्षमता ( ईम्युन पावर ) राम्रो भएका मानिसहरु संक्रमणबाट मुक्त भएको देखिएकाले सकारात्मक कुरामा ध्यान दिने, आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने, रोग लाग्नै नदिन विशेष रुपमा सजग रहनु पर्दछ । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा बिषेशगरी भिटामिन सी प्राप्त हुने कागती, सुन्तला जस्ता फलफूल, बेसार, अदुवा जस्ता खोकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउने विषय चर्चामा नै छन् । यसबाहेक अन्य मानिससँगको दुरी कायम गर्ने, भाईरस आउन सक्ने सामान नल्याउने वा शंका लागे निसंक्रमण गरेर मात्र उपयोग गर्ने, साबुनपानीले हात हुने, मास्क, पञ्जा जस्ता सुरक्षाका उपाय अपनाउनु पर्दछ । यस विषयमा आफु बसिरहेको देशले जारी गरेका निर्देशन र सुचनाहरुलाई अपनाउन सकिन्छ ।

प्रवास र धैर्यता
संसारका धेरै देशका नागरिक पर्यटन, रोजगारी, अध्ययन तथा ब्यवसायका लागि अन्य मुलुकमा पुगेका हुन्छन् । छोटो समयको सुचनाका आधारमा विभिन्न देशले बन्दाबन्दी घोषणा गरेका कारण धेरै नागरिक अन्य मुलुकमा चाहना नभईकन पनि बस्नु परेको छ । यस्तो अवस्थामा आर्थिक लगायतका विभिन्न समस्या परेको हुन्छ । विदेशमा भएका नागरिकले आफ्नो मुलुकमा भएका आफन्त सम्झेर चिन्तित हुने आफन्त विदेश भएका मानिस घरमा बसेर चिन्तित हुने अवस्था छ । तर मानव सभ्यताको विकासले हामी जति टाढाको देशमा भएपनि ति देशले अन्य देशका नागरिकलाई पनि आफ्नै देशको नागरिक जस्तो ब्यवहार गरि रहेको अवस्था छ । ठूला र शक्तिशाली देशले अन्य मुलुकमा अलपत्र परेका नागरिकलाई आफ्नो देशमा फर्काउन शुरु गरेका छन् । साना र कम क्षमता भएका मुलुक अहिलेसम्म अन्यौलमा छन् । आशा छ ति मुलुकले पनि आप्mना नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाँडो भन्दा चाँडो लिने नै छन् । बिशेष परिस्थितिलाई बुझेर सबैले धैर्यता देखाउनु अहिले समयको आवश्यकता हो । त्यसमा हामी नेपाली नागरिक पनि पर्दछौ ।

स्थानीय कानूनको पालना
जो जहाँ छ त्यहाँको कानून पालना गर्नु पर्दछ । सरकारले विशेष परिस्थीतिमा जारी गरेका निर्देशनको पालना गर्नु पर्दछ । कानूनको उल्लंघन भएमा थाहा नपाएर गरेको वा नजानेर गरेको भनेर दण्ड सजायबाट मुक्त हुन पाईदैन । बिशेष परिस्थतिमा जारी गरिएका निर्देशन पालना नगर्दा नियमित समयमा गरिएको उल्लंघन भन्दा कैयौं गुणा बढि सजाय हुन सक्दछ । प्रवासमा बस्ने नेपाली नागरिकको कानूनी उपचारका लागि कम पहुँच भएकाले पनि अझ बढि सचेत हुनु पर्ने हुन्छ । आफू रहेको मुलुकमा अवस्थीत दूतावासमा नियमति रुपमा सम्पर्कमा रहनु पर्दछ । उचित ठाउँ र व्यक्तिसँगको परामर्शबाट चालिने कदमले भोली आउन सक्ने ठूलो संकटबाट जोगिन सकिन्छ ।
शारिरिक अभ्यास, मनोरञ्जन र निद्रा

यो रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि भनेकै आफ्नै आत्मबल र रोग प्रतिरोधात्मक क्षमता हो । त्यसका लागि स्वस्थ्यकर खानेकुरा खाने, नियमित शारिरिक अभ्यास गर्ने, हाँस्यप्रधान चलचित्र हेर्ने र मस्त सुत्ने गर्नु जरुरी छ । त्यसका लागि नियमित समयमा उठ्ने, प्रसस्त पानी तथा झोलिलो पदार्थ पिउने, शारिरिक अभ्यास गर्ने, समयमा खानेकुरा खाने र कम्तिमा आठ घण्टा निदाउने गरि सुत्ने । प्रसस्त पानी पिउने तथा शारिरिक अभ्यास गरेपछि निद्रा नलाग्नेलाई पनि लाग्न थाल्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ । शारिरिक अभ्यास कसरी गर्ने भन्ने भिडियो युट्युवमा पनि प्रसस्त उपलब्ध छन् । सामान्य पुस अप, सेटअप, उठबसले पनि धेरै उपलब्धीमूलक हुन्छन् ।

सिर्जनात्मक काम र आगामी दिनको तयारीको अवसर
बन्दाबन्दीका कारण अहिले मानिसले नचाहेरै पनि आफ्नो ब्यस्त जीवनबाट छुटकारा पाएका छन् । यो समयलाई सिर्जनात्मक काममा लगाउन र आफ्नो आगामी जीवन ब्यवस्थीत बनाउन प्रयोग गर्न सकिन्छ । आफ्ना विगतका सम्झना समेटेर आत्मकथा लेख्ने, अरु मानिसलाई पनि काम लाग्न सक्ने आफ्ना अनुभव लेखेर बाँड्ने जस्ता सिर्जनात्मक काम पनि गर्न सकिन्छ । अहिले ईन्टरनेटको सुविधा भएकाले सामाजिक सञ्जालको सहयोगबाट यस्ता सिर्जनात्मक कुरा अरु धेरै मानिससम्म पुर्याउन सहज पनि छ । यसबाहेक खानेकुरा पकाउने, सवारीसाधन चलाउने, नयाँ नयाँ ब्यवसायको जानकारी लिने, आम्दानीका अन्य स्रोत खोज्ने जस्ता काम पनि गर्न सकिन्छ । अझ महत्वपूर्ण कुरा आफ्ना सन्तानका लागि समय दिने उनीहरुलाई सिर्जनात्मक बनाउन सहयोग गर्ने पनि गर्न सकिन्छ । संसारमा जति पनि आविष्कार भएका छन् समस्या समाधानको प्रयास भएका हुन् । यो समस्यालाई अवसरको रुपमा सदुपयोग गर्न सके मानवजातीले केही न केही कुरा पाउने छ ।

मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनबाट जोगिने
हातबाट अन्य अंगमा हुने संक्रमण रोक्न अहिले सेनिटाईजरको प्रयोग ब्यापक भएको छ । यसमा प्रयोग गरिने अल्कोहलका कारण धेरै मानिसले अल्कोहल प्रयोग गरिने मादक पदार्थको सेवनबाट कोरोना भाईरस मर्न सक्ने भ्रम पालेको देखिएको छ । यस्तै २५ डिग्रि सेल्सियस भन्दा बढिको तापक्रममा यो भाईरस बाँच्न नसक्ने भएकाले पनि चुरोटको धुँवाले यो भाईसर मर्छ भन्ने भ्रम धेरैलाई छ । यो पूर्णतः गलत भएको विश्व स्वास्थ्य संगठनले बताईसकेको छ । बरु संक्रमित हुने र मर्ने मानिसहरुमा यस्ता मदिरा तथा सूर्तिजन्य पदार्थ प्रयोग गर्ने मानिसको संख्या बढी देखिएको छ । त्यसैले यस अवधिमा यस्ता पदार्थको प्रयोगबाट टाढा रहनु आफु र आफ्नो परिवारको लागि उत्तम हुन्छ ।

नेपाल सन्दर्भ र सरकारी दायित्व
विश्वका बिभिन्न मुलुकमा करिब ४० लाख नेपाली नागरिक रोजगारी, अध्ययन र ब्यवसायका लागि पुगेका छन् । यसका लागि बन्दाबन्दी शुरु हुनु अगाडी दैनिक झण्डै १५ सय नेपाली नागरिक नेपाल आउनेजाने गर्दै आएका थिए । अहिलेको विशेष परिस्थतिमा नेपाल छोडेर आफ्नो कर्म भूमि फर्कन चाहनेको संख्या कम होला तर आफ्नो मुलुक फर्कन चाहनेको संख्या उच्च छ । दैनिक १५ सय व्यक्ति नियमित अवस्थामै पनि नेपाल फर्कने गरेको तथ्याँक हेर्दा करिब एक महिनाको बन्दाबन्दीको अवस्थामा रोकिएका ब्यक्तिको संख्या मात्र ४५ हजार हुन जान्छ । यो विशेष परिस्थतिमा यो संख्या कयौं गुणा बढि हुन्छ । कतिपय देशिमा रोजगारी नभएर खान बस्नै समस्या हुने अवस्था पनि सिर्जना भएको छ । त्यसैले पालिका, प्रदेश र केन्द्र तहमा रहेका सरकारले आ–आफ्नो क्षेत्रबाट प्रवासमा रहेका नागरिकको संख्या आँकलन गरि कम्तीमा ३० प्रतिशत नागरिक फर्कन सक्ने भएकाले त्यसको तयारी गर्न अब ढिला गर्न हुन्न ।

नेपाल फर्कदा ध्यान दिनु पर्ने कुरा
ठूलो संख्यामा नेपाली नागरिक मुलुक फर्किए उनीहरुको ब्यवस्थापन गर्न सरकारी निकायलाई पक्कै पनि कठिन हुन्छ । यस्तो अवस्थामा नेपाल फर्कने मात्र नभई मास्क, सेनिटाईजर जस्ता कोरोनाबाट बचाउन सहयोग गर्ने सुरक्षा सामग्री आफु र आफ्नो परिवारका लागि लैजान पनि ध्यान दिनु पर्दछ । केही महँगो होला तर उपलब्ध हुने भएकाले लैजानु उपयुक्त हुन्छ । मिलेसम्म स्वास्थ्यकर्मिका लागि प्रयोगमा आउन सक्ने गरि सामग्री लैजान सके अझ राम्रो हुन्छ । एकजनाले एकजना स्वास्थ्यकर्मिका लागि आवश्यक सामान लैजान सके पनि ४५ हजार जना जाँदा त्यति नै स्वास्थ्यकर्मिलाई पुग्ने सामान पुग्न सक्छ । यो, सरकारलाई खबरदारी गर्न औला ठड्याउने मात्र होईन जिम्मेवार नागरिकको रुपमा काँध थाप्नु पर्ने समय पनि हो ।

अन्त्यमा
कुनै पनि समस्या सधैंका लागि आउँदैन । हरेक समस्या समाधान भएर जान्छन् । समस्या भयो भनेर चिन्तित हुने भन्दा समाधानका लागि के–के गर्ने भनेर प्रयास गर्न सके सबैको हितमा हुन्छ । जे हुन्छ राम्रो हुन्छ तत्कालका लागि नराम्रो भएपनि आगामी दिनका लागि त्यसले राम्रो गर्न सक्छ भन्ने हाम्रो पुरानो आध्यात्मिक आस्था हो । जंगलमा आगो लाग्दा धेरै जीवजन्तु तथा बोट विरुवा मर्छन । तर केही समयमा नै कलिला मुना पनि पलाउँदै जान्छन् । यसलाई हामीले प्रकृतिको चक्रका रुपमा स्वीकार गरि सकेका छौ । अहिले हामीलाई नियमित हात धुने, स्वास्थ्यमा सचेत रहने बानीको अझ राम्रो विकास भएको छ आशा छ । यसले आगामी पुस्ता अझ स्वस्थ प्रति सचेत बनाउने छ । यो मानव जातिमाथी आएको यो संकट नयाँ बर्ष २०७७ को शुरुवातसँगै कम भएर जाने आशा गर्दै सबैलाई नयाँ बर्षको शुभकामना ।
(लेखक नेपाल पत्रकार महासंघ, युएई शाखाका सचिव हुन्)

साभार @ देश प्रदेश अनलाईन