गजल
भित्र एउटा बाहिर अर्को बोल्छ किन मान्छे
स्वाभिमानी हुँ भन्छ तर गोडा मोल्छ किन मान्छे ?
सत्यवादी मानवतावादी आफै मात्र ठान्छ
स्वार्थ मिले ढोग्छ नत्र छाती खोल्छ किन मान्छे ?
होमा हो मिलाए देउता उसको नत्र सबै शत्रु
सेतोलाई कालो बनाउन विष घोल्छ किन मान्छे ?
ठालू बन्न पाए देउता बनाई गजुर चढाउँछ
नत्र खुट्टा तानीतानी पोलाउँछ–पोल्छ किन मान्छे ?
यात्रा बीचमै छोड्छ तर सहयात्री हुँ भन्छ
हुटिट्याऊँ झैँ संसार थाम्छु भनी टोपल्छ किन मान्छे ?
धरातल बिर्सिएर जोड्न सिपालु धर्ती–आकाश
चोर हो तर ठूलो स्वरमा हिरो ओकल्छ किन मान्छे ?
मैले गरेँ– मेरै देन हो भन्छ, भन्दैन ऊ हामी
बगलीमा छुरा राखी आफ्नै खाल्डो खोतल्छ किन मान्छे ?