sunwal

नगर प्रमुखद्धारा पत्रकार महासंघलाई ७ सय थान मास्क प्रदान

18

परासी, ७ बैशाख ः पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान (पिस) मास्क प्रदान गरेका छन् ।
कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित रहन सहयोग पु¥याउने उद्देश्यले नगर प्रमुख थापाले व्यक्तिगत रुपमा उपलब्ध गराएको मास्क पत्रकार महासंघ जिल्ला शाखा मार्फत पत्रकारहरुलाई प्रदान गरेका हुन् ।
महासंघलाई मास्क प्रदान गर्दै नगरप्रमुख थापाले पत्रकारहरु जोगिए मात्र समाज जोगिने भएकाले सुरक्षित भएर समाचार संकलन गर्नका लागि पत्रकारहरुलाई सहयोग गरेको बताए । आवश्यक परे पत्रकारहरुलाई पीपीईलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाए । कोरोना संक्रमणका विरुद्ध पत्रकारहरुले निभाएको भूमिकाको प्रशंसा गर्दै उनले पत्रकारहरुलाई उत्साहित र प्रोत्साहन गर्न राज्यले पनि ध्यान दिनु पर्नेमा जोड दिए ।
महासंघमा प्राप्त भएको मास्क जिल्लामा हाल सञ्चालनमा रहेका सञ्चार संस्था र पत्रकारहरुलाई उपलब्ध गराइने महासंघका शाखा अध्यक्ष हरि शर्माले बताए । कोरोना संक्रमणका कारण जिल्लाका पत्रिकाहरु बन्द छन् । ६ वटा रेडियो र एक टेलिभिजन प्रसारणमा छन् । ‘ शाखामा उपलब्ध गराइएको मास्क प्रसारणमा रहेका सञ्चार संस्थाहरुलाई जनही ५० थानका दरले उपलब्ध गराइने छ । व्यक्तिगत रुपमा महासंघमा आवद्ध सदस्य र अन्य पत्रकारहरुलाई वितरण गरिने छ ।’ अध्यक्ष शर्माले भने । पत्रकारहरुलाई मास्क लिनका लागि महासंघमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।