sunwal

बर्दघाट नगरपालिकाद्धारा संचार गृहहरुलाई बाल्टी, बाँटा र साबुन सहित सचेतना ब्यानर हस्तान्तरण ।

42

कृष्ण ढकाल
बर्दघाट,चैत्र –९
कोरोना भाईरसको महामारीको जोखिमलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाले  विभिन्न प्रकारका सचेतना मुलक कार्यहरु गर्ने क्रममा आईतावर बर्दघाट नगरमा रहेका संचार गृहहरुलाई बाल्टी, बाँटा र साबुन सहित सचेतना ब्यानर हस्तान्तरण गरेको छ । सबैलाई सुचना ,समाचार र विचार प्रदान गर्ने अनी सचेत र खवरदारी गर्ने संचार गृहहरुमा  विभिन्न क्षेत्रवाट मानिसहरुकोे आवत जावत हुने हुदां त्यसलाई मध्येनजर गरी नगरपालिकाले नगरमा रहेका संचार गृहहरुलाई बाल्टी, बाँटा र साबुन सहित सचेतना ब्यानर हस्तान्तरण गरेको जनाएको छ । नगरपालिकाले नगरभित्रका सबै संघ–संस्था तथा कार्यालयहरुले पनि आफ्नो कार्यालयमा यसरी नै बाल्टी, बाँटा र साबुन सहितको ब्यवस्था गरी पहिले साबुन पानीले हात धुने ब्यबस्था मिलाउन भन्ने सन्देश दिनका लागि पनि संचार गृहहरुलाई यो सामाग्री प्रदान गरीएको नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ । उहांले सबै नगरवासिहरुलाई नियमित रुपमा साबुन पानीले हात धुने ,सकेसम्म भिड भाड हुने स्थानमा जम्मा नहुने र अनावश्यक रुपमा चोक चौराहमा जम्मा नहुन पनि आग्रह गर्नु भएको छ ।   यसअघि नगरपालिकाले  कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा ४ वटा आईसोलेसन वार्ड स्थापना गरेकोे छ । आवश्यकता अनुसार अन्य कार्यहरुलाई पनि निरन्तर अगाडि बढाईने र नगर भित्रका नागरिहरुलाई सुरक्षित राख्न श्रोत र साधनले भ्याएसम्मका सवै उपायहरु अवलम्बन गरिने नगर प्रमुख बस्यालले बताउनुभएको छ । उहाँले नगरवासीलाई हल्लाको पछाडि नलाग्न र आतंकित नभई सजग र सचेत भई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह  गर्नुभएको छ ।


बर्दघाटमा अहिले गाउँले दर्पण अनलाईन,सामुदायिक रेडियो दाउन्ने,त्रिवेणी सामुदायिक टेलिभिजन,दौतरी एफ.एम. र बर्दघाट पोष्ट तथा स्थानिय पत्र रहेका छन् । बर्दघाटमा रहेका सवै संचारमाध्यमले आफ्नो कार्यालयमा प्रवेश गर्ने जोकोहिलाई पनि साबुनपानीले हात धुन अनिवार्य भन्दै नगरपालिकाले उपलब्ध गराएको सामाग्रीलाई आफ्नो कार्यालय प्रवेश गर्ने ठाउमा ब्यबस्थापन गरेका छन् ।