sunwal

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरुमा डोजर चल्यो ।

38

बुटवल,माघ–२३
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरुमा डोजर चलाईएको छ । अस्पताल प्रशासनले बिहीबार बिहानै सटरहरुमा डोजर चलाएको हो । गत कात्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद वैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरुमा डोजर चलाईएको हो । यता प्रदेश सरकारको निर्णयको विरुद्ध व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार दुबै पक्षलाई छलफलमा बोलाउने अन्तरकालीन आदेश दिएको थियो । जिल्ला अदालतको आदेशसँगै अस्पताल प्रशासनले माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टा भित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो । तर अस्पताल प्रशासनले उक्त आदेश बेवास्ता गर्दै बिहीबार बिहानै सटरहरुमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार पुनः अर्को अन्तरिम आदेश जारी गर्दै सटर भत्काउने काम रोक्न भनेको छ ।
जिल्ला अदालतको फैसलापछि व्यवसायीहरु सर्वोच्च अदालतमा रिट निवेदन दिन पुगेका थिए । सर्वोच्चले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालका सटर व्यवसायी र अस्पताल प्रशासन समेतका विपक्षीलाई फागुन १ गते छलफलका लागि बोलाउने अन्तरिम आदेश दिएको थियो । पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले सटर खाली गर्न भनेपछि व्यवसायीले करार सम्झौता परिपालनाको माग गर्दै अदालत धाउँदै हिँडेका थिए । अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा (सरकारी) औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयां लगानी भएको व्यवसायीहरुको दावी छ ।