sunwal

एक पटक फेरी आन्दोलनमा होमिनुको विकल्प छैन ः प्रचण्ड

388

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३
जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा पश्चिम नवलपरासी आउनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्ने बताउनुभएको छ।
अहिले पछिल्लो समय मधेशमा देखिएका मिटर ब्याजीका समस्या,नागरिकताका समस्या देखि जातीय, भाषिक तथा क्षेत्रीय विभेद अन्त्य गर्न सडक र सदनबाट एक साथ आवाज उठाउनु पर्ने बताउनु भएको छ । उहाँले समस्याहरुको समाधानका लागि दवादमुलक आन्दोलन बाहेर अरु विकल्प नरहेकाले सबै मिलेर एक पटक फेरी संयुक्त आन्दोलनमा होमिन आग्रह गर्नु भएको थियो ।

‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान’ अन्तरगत बुधबार नवलपरासीको प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशमा कृषि क्रान्तिको सम्भावना हुँदाहुँदै पनि भारतबाट अवैध रूपमा आयात हुने कृषि उपजको नियन्त्रण हुन नसक्दा समस्या भएको बताउनु भएको थियो । भारतबाट आउने उखु र केरा रोक्न नसक्दा नवलपरासी क्षेत्रका किसान मारमा पर्दै आएको प्रचण्डको भनाई थियो ।

त्यसैगरी अध्यक्ष दाहालले विगतमा माओवादीबाट केही त्रुटि भएको उल्लेख गर्दै अब समाजवाद र समानताको युग स्थापना गर्न फेरी जनतामा फर्किएको बताउनु भयो । वेलाटारीमा भएको सभामा अध्यक्ष प्रचण्डले शहित तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

यसअघि बिहान बर्दघाट–१४ स्थित सहिद स्मृति सामुदायिक अस्पतालको अवलोकन गर्नु भएका प्रचण्डले अस्पतालमा विद्यमान संरचनात्मक र सञ्चालन सम्बन्धी समस्याहरूबारे जानकारी लिएर तिनको समाधानका लागि आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । भने अस्पताल परिसरमा रहेको सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरी देश र जनताको मुक्तिका लागि उहाँले गरेको बलिदान सधैं स्मरणीय रहने गरी सहिदहरूको सपना साकार पार्न निरन्तर अग्रसर रहने प्रतिबद्धता पुनः दोहोर्‍याउनु भएको थियो ।