कृष्ण ढकाल
बर्दघाट,चैत्र–८
हरेक खेलका खेडालीहरुले अब आफ्नो खेललाई ब्यवसायिक रुपमा अघिबढाउन जरुरी रहेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । आज देखि शुरु भएको दोस्रो बर्दघाट ब्याटमिन्टन प्रतियोगीता–२०८१ को समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
बर्दघाट नगरका बिभिन्न खेलका खेलाडीहरु खेलकै माध्यमवाट विश्वमा समेत आफुलाई चिनाउन सफल भएको स्मरण गराउदै अब खेललाई ब्यवसायिक रुपमा अघि बढाउन आग्रह गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले नगर खेलकुद विकास समिति मार्फत खेलकुदको विकासका लागि प्रसस्त बजेट समेत विनियोजन गरेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी पूर्व नगर प्रमुख धिरज शर्माले ब्याटमिन्टन खेल सबैका लागि स्वास्थ्य रहन सहयोग गर्ने खेल भएकाले यसलाई अब विद्यालय स्तरमा गएर बिद्यार्थीहरुलाई सिकाउन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
बर्दघाट ब्याटमिन्टन कल्बका कार्यवहाक अध्यक्ष अर्जुन थापाको अध्यक्षता र प्रकाश पाण्डेको सञ्चालन र मिन गुरुङको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रममा बर्दघाट नगर तथा जिल्लाका बिभिन्न संघ संस्था र कार्यालयका प्रमुख तथा खेलाडीको सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन हुने दोस्रो बर्दघाट ब्याटमिन्टन प्रतियोगीता–२०८१ मा १६ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा २५ हजार ,१५ हजार र ५ हजार राशीको पुरस्कार रहेको छ ।
प्रतियोगितामा पहिलो कार्ड पाउनेले ५ सय रातो कार्ड पाउनेले १ हजार र कालो कार्ड पाउनेले १५ सय जरीवाना तिर्नु पर्ने नियम लगाइएको छ ।