sunwal

पब्लिक क्याम्पसहरूको दिगो विकासका लागि स्थानीय सहभागिता अनिवार्य ः संघीय सांसद भुसाल

586

कृष्ण ढकाल
बर्दघाट,फागुन– १६
समुदायकै लगानीमा स्थापना भएका पब्लिक क्याम्पसहरूको दिगो विकासका लागि स्थानीयवासीहरुको सहभागिता अनिवार्य रहेको संघीय सांसद सरिता भुसालले बताउनु भयो। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. (२ चिसापानीमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसको ३५ औं क्याम्पस सभा लाई सम्बोधन गर्दै संघीय सांसद भुसालले उक्तकुरा बताउनु भएको हो । संघीय सांसद तथा शिक्षा समितिकी सदस्य समेत रहनु भएकी सरिता भुसालले नेपालको शैक्षिक विकासमा पब्लिक क्याम्पसहरूको भूमिका महत्वपूर्ण रहेको बताउदै क्याम्पसको उत्तरदायित्व आम समुदायले वहन गर्नुपर्नेमा जोड दिनु भएको थियो।
दिव्यज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता र संघीय सांसद सरिता भुसालको प्रमुख आतिथ्यतामा भएको क्याम्पस सभामा बोल्दै संविधानसभा सदस्य विक्रम खनालले क्याम्पसलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो।
त्यस्तै गरी बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय विद्यार्थीहरू उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था नरहेको बताउनु भएको थियो। शिक्षाका लागि सानो कक्षादेखि उच्च शिक्षासम्म बदर्घाटमै रहेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले अहिले बर्दघाटमै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने वातावरण तयार भइरहेको धारणा राख्नु भएको थियो ।
क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष दया दर्लामीको स्वागत मन्तव्य तथा पूर्व क्याम्पस प्रमुख कृष्णबन्दु पौडेलको सञ्चालन रहेको कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।
सोअवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा खाना महोत्सव आयोजना गरिएको थियो । जसमा नेपाली, चिनियाँ र दक्षिण भारतीय खानाका परिकारहरूको विशेष व्यवस्थापन गरिएको थियो।