बर्दघाट,माघ–१५
प्रभु बैँकमा लोनमा रहेको गाडी हिमालयन बैँकले गुण्डागर्दी शैलीमा व्यक्ति परिचालन गरेर चाबी खोस्ने हकर्त गरेको छ । पश्चिम नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर १२ निवासी लोक गायक भरतबहादुर पौडेल क्षेत्रीको बाग्मती प्रदेश ०१ – ०२६ च २१४६ नम्बरको गाडी यात्रामै रहेका बखत रूपन्देहीको खैरेनीमा दुईजना ब्यक्तिले रोकेर चाबी खोसेका हुन् ।
गाडीको चाबी खोसिएपछि क्षेत्री अचम्भित परे र केही त्रसित पनि बने । श्रीमान श्रीमती यात्रामा रहेका वेला नचिनेका मानिसले एक्कासि गाडी रोकेर चाबी थुतेपछि उनी कतै आफूलाई अपहरण गर्न खोजिएको हो की भन्ने आशङ्काले निकै डरमा परे ।
गाडी रोकेर चाबी थुत्ने मानिसले यो गाडी हिमालयन बैँकले तानेको छ हामीले गाडी लिएर जान्छौं भनेपछि उनी झनै तिन छक परे । क्षेत्रीको गाडी र हिमालयन बैँक सँग कुनै सरोकार छैन । उनले गाडी प्रभु बैङ्कबाट हायर पर्चेज कर्जा लिएर लिएका हुन् । उनले ति युवालाई बैङ्कको परिचयपत्र देखाउन आग्रह गरे तर उनीहरूसँग परिचय पत्र थिएन ।
युवाहरूले अलि अस्वभाविक र गुण्डागर्दी शैली देखाएपछि उनले इलाका प्रहरी कार्यालय खैरेनीमा खबर गरेर प्रहरीलाई बोलाए । प्रहरीले दुवै युवा लाई इलाका प्रहरी कार्यालयमा लिएर गयो । ति युवाहरूको साथमा बैङ्कले गाडी तान्नका लागि गरिएको कन्ट्रयाक्ट पेपर र तान्नुपर्ने गाडिको नम्बर सहितको लिस्ट थियो । एउटा बैँकमा रहेको गाडी अर्कै बैँकले गुण्डागर्दी शैलीमा तान्न खोज्नुले हिमालय बैँकको गुण्डागर्दी शैलीको पर्दाफास भएको छ । घटनाको बारेमा प्रहरी सँग जानकारी लिँदा गाडी दुई वर्ष अगाडिनै हिमालयन बैँक बाट प्रभुमा आएको देखिएको र युवाहरूले अराजक शैली प्रदर्शन गरेर गाडी तान्न खोजेको इलाका प्रहरी कार्यालय खैरेनीले जानकारी दियो ।
यस विषयमा हिमालयन बैँक केन्द्रिय कार्यालयका सूचना अधिकारी सुनिल गोर्खालीले बैँकका कर्मचारीहरू फिल्डमा खटेर गाडी नियन्त्रणमा लिन सक्ने अवस्था नभएको र यसका लागि ट्राफिक प्रहरी सँग सहयोग माग्दा पनि सहयोग नपाएपछि बैङ्कले त्यस्तै खालका युवा संग कन्ट्रयाक्ट गर्नुपर्ने अवस्था आएको बताए । उनले भरतपुर शाखाले गाडीको कर्जा लिएका पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएका ऋण असुलीका लागि रामेछापका सन्दिप लामा सँग कन्ट्रयाक्ट गरेको बताए । लामालेनै क्षेत्रीको गाडीको चाबी थुतेका थिए ।
प्रभु बैबैँकको गाडी किन हिमालयन बैङ्कले तान्ने ? भन्ने प्रश्नमा उनले गाडी नम्बर टिप्ने समयमा गल्ती भएको बताए । कर्जा असुलीका लागि कन्ट्रयाक्टनै गरेर गुण्डा गर्दी शैलीमा व्यक्ति खटाउनुले बैँक माथी आम नागरिकले गुमाएको भरोसा झनै खस्किएको छ ।