sunwal

शाइन रेसुङा डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

348

 

जिमिरेभार,पाैष –१४

शाइन रेसुङा डेभलपमेन्ट बैंक लिमिटेड, जिमिरेभार शाखाले त्रीनेत्र धाम, जिमिरेभारमा दैनिक ज्यालादारी गर्ने श्रमिकहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ।

कार्यक्रममा बैंकिङ सेवा तथा प्रणालीहरूको विस्तृत जानकारी प्रदान गर्नुका साथै आधुनिक बैंकिङ प्रणालीको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा सहभागी श्रमिकहरूलाई बैंक खाता खोल्ने प्रक्रियादेखि बचतको महत्त्व, कर्जाको उचित उपयोग, र डिजिटल बैंकिङको प्रयोगबारे व्याख्या गरिएको थियो। डिजिटल बैंकिङले ल्याएको सहजतासँगै यसका चुनौतीहरू, विशेष गरी अहिलेको समयमा बैंकिङ प्रणालीसँग सम्बन्धित फ्रडहरू कसरी भइरहेका छन् र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमले विशेष रूपमा श्रमिकहरूलाई बचतमा जोड दिन र आफ्ना आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न प्रोत्साहन गरेको थियो। साथै, डिजिटल बैंकिङका फाइदा र यसको सुरक्षित प्रयोगका उपायहरूबारे पनि जानकारी दिइयो। कार्यक्रममा सहभागीहरूले डिजिटल बैंकिङबारे थुप्रै नयाँ कुरा सिकेको र यो ज्ञान आफ्नो दैनिक जीवनमा उपयोगी हुने बताएका थिए।

कार्यक्रममा शाइन रेसुङा डेभलपमेन्ट बैंक लिमिटेड, जिमिरेभारका शाखा प्रमुख दिपक भट्टराईले सहजिकरण गरेका थिए। उनले कार्यक्रमको दौरान बैंकले आफ्ना सेवाग्राहीका लागि प्रदान गरिरहेका विभिन्न सुविधाहरू र श्रमिक वर्गका लागि विशेष योजनाहरूबारे जानकारी गराए।

कार्यक्रमले श्रमिक वर्गका लागि वित्तीय साक्षरताको महत्त्वलाई बलियो बनाउँदै उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यस कार्यक्रमले श्रमिकहरूको जीवनस्तर सुधार गर्न र उनीहरूलाई बैंकिङ प्रणालीप्रति झनै विश्वास दिलाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।