कृष्ण ढकाल
सुनवल,पौष–४
इन्द्रेणी सामाजिक विकास मञ्च ,बर्दघाट–९,पञ्चनगर र साझेदार संस्था फेरमेड फाउन्डेशन नेपालको सहयोगमा सञ्चालीत आधारभुत स्वास्थ्य परियोजनाको आज सामाजिक लेखा परिक्षणकार्य सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष होमराज कुंवरको अध्यक्ष्ँता र जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रतापपुर गाउपालिका अध्यक्ष उमेश यादव , सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी ,रामग्राम नगर उप–प्रमुख सम्झाना चौधरी र आयोजक संस्थाका पूर्व अध्यक्ष तथा संविद्यान सभा सदस्य विक्रम खनाल लगाएतको उपस्थिती रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकाल सहित जिल्लाका सातवटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको कार्यक्रममा आधारभुत स्वास्थ्य परियोजनाका सरोकारवाला निकायहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति यादवले स्वास्थ्यको क्षेत्रमा पश्चिम नवलपरासी जिल्लालाई लुम्बिनी प्रदेशमा नै पहिलो नमुना जिल्ला बनाउने गरी कामगर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नु भएको थियो ।
त्यसैगरी आयोजक संस्थाका पूर्व अध्यक्ष तथा संविद्यान सभा सदस्य विक्रम खनालले स्थानिय सरकारले दातृनिकाय र साझेदार संस्थाहरुसंग सहकार्य गरेर हातेमालो गर्दै अघिबढ्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
संस्थाकी कोषाध्यक्ष धनमति सापकोटाको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा परियोजनाका वारेमा परियोजना संयोजक पुष्पराज आचार्यले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको कार्यक्रमको सहजीकरण सामाजिक लेखा परिक्षक कुस्माकर ढकालले गर्नु भएको थियो ।
४ वर्ष अघि अर्थात जनबरी २०२१ देखि २०२४ डिसेम्बर सम्म साझेदार संस्था फेरमेड फाउन्डेशन नेपालको सहयोगमा सञ्चालीत आधारभुत स्वास्थ्य परियोजनाले उपेक्षित उष्ण प्रदेशिक रोगहरु,नवजात शिशु तथा मातृत्व स्वास्थ्य, अपाङ्गताको समावेसी विकास र स्वास्थ्य प्रणाली सुदृढिकरणका सवालमा काम गरीरहेको संस्थाका अध्यक्ष होमराज कुंवरले बताउनु भएको छ ।
कुष्ठरोग तथा हात्ती पाईले प्रभावित व्यक्तिहरु, विपन्न बर्ग, अपांगता भएका व्यक्तिहरु, गर्भवती महिला र स्वास्थ्य आमा समुहरुलाई लक्षित गरेर काम गरीरहेको यो परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई सीप मुलक तालिम प्रदान गर्ने देखि स्वरोजगार वनाउने कार्यमा सहयोग गरेको बताउदै लुम्बिनी प्रदेश सरकारले जारीगरेको स्वयम हेरचाह निर्देशीका लागु गनै सकेमा नवलपरासी जिल्ला प्रदेशमा पहिलो हुन सक्ने संभावना रहेको बताउनु भएको थियो ।
कुष्ठरोगी,हात्तिपाइले अपांगता र विपन्न ब्यक्तिहरुको जिविकोपार्जनका लागि जिल्लामा ९ वटा कृषक समुह गठन गरी आधारभुत उद्यमसिलता तालिम दिएको यो परियोजनाले अनुदानको रुपमा विउ पुजी प्रति समुहमा ७० हजार जम्मा गरेर स्वयम हेरचाह समूहका सदस्यहरुलाई सहयोग समेत गर्ने गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।
त्यसैगरी ४ जना महिला स्वास्थय स्वयम सेविकालाई रोल मोडल बनाई आमा समुहमा परिचालन गर्ने देखि महिला स्वास्थ्य स्वयमसेविका परिचालन मार्फत कुष्ठरोगका विरामीहरुको खोजपडताल गर्ने कार्य गररिहेको बताईएको छ ।
साझेदार संस्था फेरमेड फाउन्डेशन नेपालसंगको सहकार्यमा संलग्न भएको यो परियोजनाले ६ जनालाई प्रत्यक्ष रोजगारी दिदै यस बर्ष अर्थात सन २०२४ का लागि ९४ लाख ५६ हजार ७ सय ९० रुपैया विनीयोजना गरेको र जस्मा नोभेम्बर सम्म ८३ लाख २६ हजार ५१ रुपैया खर्च गरेको जानएको छ ।