तिलोत्तमा, मङ्सिर २०
शान्ति नमुना माबी मणिग्राममा अध्ययन गरेका विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रम आगामी फाल्गुन २ र ३ गते मणिग्राममा हुने भएको छ ।
शान्ति बिद्यालय अलुमनाई एसोसिएशनको आयोजनामा गर्न लागिएको पुनर्मिलन कार्यक्रमलाई भब्य बनाउनको लागि अलुमनाई एसोसिएशनका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षतामा शान्ति नमूना मा वि मणिग्राममा तयारी बैठक बसी पुनर्मिलन कार्यक्रमका मुख्य गतिबिधि निर्धारण गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।
अलुमनाईको पुनर्मिलन कार्यक्रममा शान्ति नमूना मावि मा वि.सं २०४१ देखि २०५० सम्म अध्ययन गरी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत, प्रहरी सेवा तर्फबाट एसएसपी, माविका प्रधानाध्यापक, सैनिक र बैङ्किङ क्षेत्रमा पनि प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा रही राष्ट्र सेवा गरिरहेका वा गरेका पूर्व विद्यार्थिहरुका साथै अन्तर्राष्ट्रीय गैरसरकारी क्षेत्रमा राष्ट्रिय प्रतिनिधि भई कार्य गरेका, तत्कालिन विरेन्द्र शिल्ड प्रतियोगिताको खेलकूदमा प्रथम स्थान प्राप्त गरेका, अन्तर्राष्ट्रीय पुरस्कार प्राप्त ब्यक्ति, उल्लेखित अवधिमा शान्ति नमूना विद्यालयमा अध्यापन गरेका शिक्षक शिक्षिकाहरुलाई पनि सो वृहद् पुनर्मिलन कार्यक्रमको अवसरमा अभिनन्दन गर्ने एसोशियसनले जनाएको छ । बृहद तेस्रो पुनर्मिलन कार्यक्रमको शुभअवसरमा “शान्ति स्मारिका” प्रकाशन गर्ने र त्यसको लागि लेख रचनाहरु आव्हान गर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रम भब्य र सभ्य किसिमले सम्पन्न गर्नको लागि श्री नरबहादुर कँडेलको संयोजकत्वमा पुनर्मिलन कार्यक्रम संयोजन समिति चयन गरिएको छ । एशोसियसनको तयारी बैठकले पुनर्मिलन कार्यक्रमको सह संयोजकमा ई.बुंद्धि प्रसाद गौतम , अर्थ समितिमा श्री यमदत्त सुवेदी, वनभोज कार्यक्रम समितिमा पुनम पौडेल, खेलकुद कार्यक्रमको संयोजकमा श्री चित्र बहादुर गुरुङ, स्मारिका प्रकाशन समितिमा राम बहादुर केसी, सांस्कृतिक कार्यक्रममा अनु के. सी., स्वागत समितिमा क्षमा अधिकारि र मंच व्यवस्थापन तर्फ अर्जुनराज उपाध्यायलाइ संयोजक चयन गरिएको छ ।
वृहत पुनर्मिलन समारोहको प्रचार प्रसारको लागि युवराज कंडेलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । उक्त समितिमा कृष्ण के सी, जवाहार लाल न्यौपाने सदस्य रहेका छन् भने ई दुजेंद्र बस्नेत सल्लाहकार सदस्य चयन गरिएको एशोसियसनका अध्यक्ष होमनाथ अर्यालले बताए ।
शान्ति नमुना माविमा अध्ययन गरेका भुतपुर्ब विद्यार्थीहरुको संस्थाको रुपमा २०६४ सालमा स्थापित एसोशियसनले शान्ति नमुना माविका पुर्व प्रधानाध्यापक जगदीश प्रसाद उपाध्यायको स्मृतिमा १४ लाख रुपियाको अक्षयकोष स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । विद्यालयम कक्षा ११ र १२ मा अध्ययन गर्ने दृष्टिबिहिन विद्यार्थीलाई छात्रवृति प्रदान गर्नको लागि १३ लाख रुपियाँको आमा–बाबा स्मृति अक्षयकोष समेत स्थापना गरेको छ । एसोशियसनले हरेक वर्ष विद्यार्थी मिलन, शिक्षक सम्मान, बिरामी विद्यार्थीलाई सहयोग जस्ता कार्यक्रम गर्दै आएको छ ।