kalika

महामारी फैलिनआपतकालीन स्वास्थ्य शिविरमा १०९ जना लाभान्वित

179

मोहन पौडेल
परासी, २३ असोज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.६ स्थित मधौलियामा महामारी फैलिन नदिन बुधबार आपतकालीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट उक्त वडाका १०९ जना लाभान्वित भएका छन् ।


सरावल गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, क्यानेडियन रेडक्रस र रामग्राम जेसीजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत हप्ताको बाढीका कारण डुबानबाट प्रभावित भएको उक्त वडामा महामारीको सम्भावना देखिएपछि आपतकालीन शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो ।
शिविरमा ६२ जना महिला र ४७ जना पुरुष गरि १०९ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा गाउँपालिका अन्र्तगत कार्यरत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए । गाउँ नै डुबानमा पर्दा दुषित पानीका कारण हैजा, झाडापखला तथा डेंगु लगायतका रोग फैलिन थालेको गुनासो आएपछि सम्भावित महामारी रोक्न आपतकालीन स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।


शिविरको उद्घाटन गर्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराई लाभ उठाउन आग्रह गर्नुभएको थियो । उक्त अवसरमा स्वास्थ्य परीक्षणसँगै बिरामीहरुलाई औषधी पनि वितरण गरिएको थियो । रेडक्रसले महामारी फैलिन नदिन उपचार मात्र नभई स्थानीय नागरिकलाई जनचेतना फैलाने काम पनि गरेको क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित समुदाय स्तरीय बृहत स्वास्थ्य परियोजनाका संयोजक अनुप खड्काले जानकारी दिनुभयो । स्वास्थ्य शिविरसँगै सचेतना फैलाने कार्य पनि गरिएकोले यहाँका नागरिकमा आनिबानीमा परिवर्तन आई सम्भावित महामारीलाई न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।