sunwal

रामग्राम स्तुप क्षेत्रमा प्रहरी बिट र रामग्राम विकास कोषको कार्यालय स्थापना

342

बिकास अधिकारी
परासी,असोज १८
भगवान गौतमवुद्धको एक मात्र सिंगो अस्थीधातु सुरक्षित रहेको स्थल नवलपरासीको रामग्राम ७ उजैनीमा प्रहरी बिट स्थापना गरिएको छ । पर्यटकिय तथा एतिहासिक स्थल रामग्राम स्तुप क्षेत्रमा अवान्छित क्रियाकलाप हुन थालेपछि अस्थाई प्रहरी बिट स्थापना गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
स्तुप क्षेत्रमा लागुऔषधको सेवन गर्ने, सिमा क्षेत्रबाट अवैध आयातको मार्गको रुपमा समेत प्रयोग हुन थालेपछि स्थानिय तह संगको समन्वयमा प्रहरी बिट स्थापना गरेको प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो । प्रहरी बिटका लागी रामग्राम नगरपालिकाले निर्माण गरेको पर्यटन सुचना केन्द्रको भवन उपलब्ध गराईएको छ ।
लामो समय देखि रामग्राम नगरपालिका र यस क्षेत्रका स्थानियहरुले उक्त स्थानमा प्रहरी बिट स्थापनाको माग गर्दे आएका थिए । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले लामो प्रयास पछि उजैनीमा प्रहरी बिट स्थापना गर्न सफल भएको बताउदै स्थानियबासीले समाजमा समाजिक सद्भाव कायम गर्न भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । रामग्राम स्तुप यस क्षेत्रको मात्र नभएर देशकै गहना भएकाले यसको महत्व सबैभन्दा पहिले स्थानियबासीले बुझेर अपनत्व लिनुपर्ने बताउनुभयो । अझै पनि स्थानिय समुदायमा स्तुपको महत्वको विषयमा जानकारी नभएको भन्दै उहाँले अब नगरपालिको पाठ्यक्रममै स्तुपको विषय समेट्ने योजना बनाएको जानकारी दिनुभयो ।
लुम्बिनीमा वुद्ध जन्मिएको भएपनि अहिले वुद्धको अस्थी रामग्राममा रहेकाले वुद्ध धर्मालम्बिहरुले अझै पनि वुद्ध जिउदो रहेको स्थलको रुपमा रामग्रामलाई लिने भएकाले लुम्बिनी विकास कोषले बजेट विनियोजन गर्दा रामग्राम स्तुप माथी विभेद गर्न नहुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानियबासीको सहयोगले मात्रै शान्ती सुरक्षा र अमनचयन कायम गर्न सकिने उल्लेख गर्दे आवश्यक सुचना उपलब्ध गराइ प्रहरीलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो । स्थानिय राधेरमण पाण्डेले प्रहरी बिट स्थापनाले स्तुप क्षेत्रको समग्र शान्ती सुरक्षाको अवस्था सुधार गर्न मदत पुग्ने बताउननुभयो । प्रहरी बिटमा प्रहरी सहायक निरिक्षक (असई) को नेतृत्वमा ५ जना प्रहरी खटिने प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।

यसैगरी रामग्राम स्तुप क्षेत्रको विकास र प्रर्वद्धनमा ढिलासुस्ती भएको भन्दै रामग्राम नगरपालिकाले स्थानिय तह मातहत रहने गरी रामग्राम विकास कोष गठन गरेको छ । जसको कार्यालय समेत स्तुप क्षेत्रको सुचना केन्द्रकै भवनमा स्थापना गरिएको छ । उक्त कोषको कार्यालय पनि प्रहरी बिट रहेकै भवनमा रहने गरी आज स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिको यसअघिनै नगर प्रमुख संयोजक रहने गरी रामग्राम विकास कोषको गठन गरिसकेको छ । लुम्बिनी विकास कोषले स्तुपको विकासमा ध्यान नदिएको भन्दै नगरपालिकाले रामग्राम विकास कोष गठन गरेको हो । पटक पटक प्रदेश तथा संघिय सरकारको ध्यानआर्कषण गराउदा समेत लुम्बिनी विकास कोष अन्र्तगत पर्ने रामग्राम स्तुप क्षेत्रमा कुनै पनि काम हुन नसकेकाले आवश्यक समन्वय गर्ने गरी कोष वृद्धि गरेर काम गर्न रामग्राम विकास कोष बनाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यम बहादुर कुँवरले बताउनुभयो ।