कृष्ण ढकाल
बर्दघाट,असोज–१६
विजया दशमी,दिपावली,छठ् लगाएतका चाडपर्वहरु शुरुभएसंगै सर्बसाधरण नागरीकहरुको सहजताका लागि पश्चिम नवलपरासी जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा यात्रामा रहेका कुनैपनि नागरीकहरुको असहजता र संभावित घट्ना दुर्घटना हुन नदिनका लागि पश्चिम नवलपरासी जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले बताउनु भएको छ ।
नवलपरासीमा आज महेसपुर, परासी बाइपास रोड, सुनवल, भुमही र बर्दघाटको त्रिवेणी चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बर्दघाटमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले आम नागरीकको सहयोगका लागि प्रहरीले गरेको काम प्रसंशनीय रहेको बताउनु भएको थियो ।
ट्राफिक प्रहरी निरिक्षक अमृत भण्डारीको सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलको स्वागत रहेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अहिले विपद्सँगै चाडपर्व नजिकिँदै गएकाले यात्रुलाई थप असहजता हुने भन्दै सबै सरोकारवालाहरूको सहयोगमा मात्र यात्रु सहायता कक्ष सञ्चालन हुने बताउनुभएको थियो । भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको उहाँको भनाई रहेको थियो।
त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले प्रहरीसंगै सबैले अप्ठारोमा परेका कुनै पनि ब्यक्तीलाई सबैमिलेर सहयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले प्रहरीको जनशक्ति र श्रोत साधनको उच्चतम प्रयोग गरी चाडपर्वमा हुने विभिन्न अपराधिक गतिविधिहरू नियन्त्रण गरिने बताउनु भएको थियो । सार्वजनिक यातायातमा चाडपर्वमा अपाङ्गता भएका, अशक्त र महिला आरक्षण सिटमा समेत अन्य व्यक्तिहरू राखिने हुनाले यसलाई पनि ख्याल गरिदिन यातायात व्यवसायीलाई उहाँले आग्रह समेत गर्नु भयो ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले अप्ठ्यारोमा परेका यात्रुहरूलाई सहायता प्रदान गर्ने उध्देश्यले स्थापना गरीएको यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा बर्दघाट प्रेस क्लबका अध्यक्ष कृष्ण ढकाल,पश्चिम नेपाल बस ब्यवसायी समिति,पश्चिम नेपाल ट्रक ब्यवसायी समिति,स्थानिय रिक्सा तथा टेम्पो ब्यवसायी समितिका ब्यीक्तहरु लगाएत पत्रकार र प्रहरीहरुको उपस्थिती रहेको थियो ।