Sarawal sit lahar Notis

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवसहितको टोलि अनशनमा

427

बर्दघाट,भदौं–२५
प्रतापपुर गाउँपालिका भित्र पर्ने हुलाकी राजमार्गको सडक निर्माणमा ढिलाई भएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहितको टोलि अनशनमा बसेका छन् ।
यसअघि संघीय हुलाकी सडकको अधुरो काम तत्काल सम्पन्न गर्न संघ सरकारलाई पत्राचार गरेको गाउपालिकाले यश अघि नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । प्रतापपुर गाउँपालिका भित्र पर्ने सडकहरुको निर्माण नभएको भन्दै मंगलबारबाट रिले अनशन सुरु गरेका हुन् ।

गाउपालिका अध्यक्ष यादवको नेतृत्वमा गाउँपालिकाका वडा अध्यक्ष र जनप्रतिनिधिहरू संयुक्तरुपमा अनशनमा बसेका हुन् । संविधानसभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक पनि अनशनमा सहभागी हुदै सडक निर्माण समयमा नहुदा स्थानीयले दुख पाएको उल्लेख गर्नु भयो । इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशनमा बसेको र २७ गतेसम्म पनि कामले तीव्रता नपाएमा आमरण अनशनमा बस्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले बताउनु भयो ।

हुलाकी सडक निर्देशनालय अर्न्तगत नारायण चोक, गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलब ५ किलोमिटर हुलाकी सडक ६ वर्ष पुरा हुँदा पनि सम्पन्न नभएपछि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिले आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा प्रदशर्न र धर्ना दिएका छन्।

सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटकपटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।

२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अहिलेसम्म पनि सम्पन्न नभएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो । संघीय सरकारको योजनामा रहेको हुलाकी सडक निर्माण नहुँदा स्थानीयले दैनिक जसो दुर्घटना र यात्राको सास्ती खेप्नु परेको छ ।