Sarawal sit lahar Notis

विश्व आत्महत्या रोकथाम दिवस ठाउँ–ठाउँमा मनाइयो

नवलपरासी जिल्लामा वर्षमा १ सय ६ जनाले आत्महत्या गरे

267

कृष्ण ढकाल
बर्दघाट,भदौं–२५
विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नवलपरासी जिल्लाका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।
आत्महत्या रोकथाम गर्नका लागि सचेतना जागृत गराउने उद्धेश्यले बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले आफ्नो कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको थियो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको अध्यक्षता र नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,नेपाल औषधी ब्यवसायी संघका जिल्ला अध्यक्ष हेमन्त न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष गोबिन्द पाध्याय,स्वास्थ्यकर्मी सिता पौडेल लगाएतले आत्महत्या रोकथामको लागि गरिनु पर्ने काम र मानसिक स्वास्थ्य सम्बन्धि सचेतनाका वारेमा आ–आफ्ना भनाई राख्नु भएको थियो ।


जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सञ्चारकर्मी, तथा सेवाग्राहीहरु र बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन आधारभुत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख सुजिता शर्माले गर्नु भएको थियो ।

त्यसैगरी विश्व आत्महत्या रोकथाम दिवसकै अवसरमा ईन्द्रेणी समाजिक विकास मंन्च भुताहा र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालीत एकिकृत ग्रामिण समुदाय स्वास्थ्य परियोजना अन्तरगत मानसिक स्वास्थ्य सम्बन्धित संञ्चारकर्मि संग अन्तरक्रिया सम्पन्न भएको छ ।

ईन्द्रेणी समाजिक विकास मंन्चको सभाहलमा भएको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्याका विषयमा समाचार संकलनको क्रममा ध्यान दिनुपर्ने कुराहरु बारे संञ्चारकर्मि संग छलफल गरिएको थियो ।
युनाईटेड मिसन टु नेपालका कार्यक्रम अधिकृत ईश्वर केसिले सहजिकरण गर्नुभएको क्रममा जिल्ला सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

ईश्वर केसिले दिएको जानकारीमा अहिले भईरहेका आत्महत्याका घटना मध्ये ६५ प्रतिशत मानसिक स्वास्थयकै कारण हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । आत्महत्याका घटना न्युनिकरणका लागी पनि पत्रकारहरुले सहि तरीकाले कलम चलाएमा घट्नाहरुमा स्वतह न्युनिकरण भएर जाने गरेको तथ्य भेटिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

अहिले पश्चिम नवलपरासीमा पनि आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । जिल्लामा एक वर्षको अवधिमा १५ जना बालबालिका सहित १ सय ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा आत्महत्या गर्ने मध्ये ५४ पुरुष र ३६ जना महिला छन् भने १५ जना बालबालिका मध्ये ३ जना बालक र १२ जना बालिका सहित एक जना तेस्रो लिगिं रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभएको छ ।
जिल्लाको सात स्थानिय तह मध्ये सुनवलमा सबैभन्दा बढि २४ जना रहेकाछन् । यसैगरी रामग्राममा १७, प्रतापपुरमा १६, बर्दघाटमा १४, सरावलमा १३, सुस्तामा १४ र पाल्हीनन्दनमा ८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ ।
पछिल्लो चार वर्षको अवधिमा नवलपरासीमा ७ सय ४८ जनाले आत्महत्याको प्रयास गरेका थिए।