sunwal

निरसका रसिला रचना

250

१)

संसारमा यो नेपाली सबैभन्दा वीर छ
तर पनि किन-किन झुक्नै पर्ने शीर छ
खोलो बग्छ पसिनाको सपना फलाउन
हात पर्छ शुन्य हजुर मात्रै त्यत्ति पीर छ

२)

सुख दु:ख भन्नु यस्तै रहेछ जिन्दगीको फूलबारीमा
कैले हुन्छौं स्वदेशमै कैले बिरानो देशको गुलामीमा
गर्नु कति तारिफ आफ्नै धन रुपरंग मान प्रतिष्ठाको?
बदलिनै पर्छ एकदिन सबै नचाहेरै पनि खरानीमा

३)

कलीका मान्छे भनाउँदा हाम्रो चेत गहकिलो छैन
बाहिरी बोक्रो गतिलो जस्तो तर आँत अँतिलो छैन
हरेकले जे चाह्यो सोही बन्न असम्भव हुँदै हुन्न
तर मान्छे जस्तो मान्छे बन्न त्यति सजिलो छैन

४)
दुःखले मनको गगनचुम्बी आकाश छुँदा आँसु बनें शीत
किन्तु तिमी आउँदै आईनौं बुझेरै पनि बनी मनको मीत
शिकार सँगै शिकारी जन्मिने कुरा नकार्न सक्छ कस्ले ?
म हारेरै भए पनि पेटभरि हाँस्छु जब हुन्छ तिम्रो जीत

५)
हरेक जीवनको आफ्नै महफिल हुन्छ
जीवन बाँच्न नजाने लोचन टिलपिल हुन्छ
आफू निर्धो कम्जोर कहिल्यै नठान्नू होला
हरेकमा अलौकिक गुण काविल हुन्छ

ध्रुव अर्याल निरस
पुतलीबजार-१३ स्याङ्जा