सामुदायिक शिक्षा नै नागरिकको साझा सम्पत्ती हुँदा सवैको चाँसो हुनु स्वभाविक हो । साथै यसको संमृद्धिमा सरोकारवालाहरुको सहभागिता अनिवार्य रहन्छ । विभिन्न खोज तथा अनुसन्धानहरुले एउटा सामुदायिक विद्यालयलाई सुव्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्नु पूर्व निम्नलिखित सामुदायिक विद्यालय सञ्चालनका समस्याहरुसँग पहिचान पश्चात् समाधानका उपायहरु अवलम्वन गर्न सकिन्छ ः
१. प्रधानाध्यापको नेतृत्व विकासः
प्रधानाध्यापकमा प्रभावकारी नेतृत्व सीप, योजना निर्माण र कार्यान्वयन कुशलता आवश्यक पर्दछ । समुदायको विश्वास पात्र कुशल संयोजककर्ता, सरोकारवालासंगको समन्वय सीपले मात्र प्रधानाध्यापकले विद्यालयलाई अगाडि बढाउन सक्छ । प्रधानाध्यापकको कार्यसम्पादन क्षमताको बारेमा पछिल्लो अनुच्छेदहरुमा विस्तृत चर्चा गरिनेछ । यस अन्तर्गत विद्यालय व्यवस्थापन, हासिल गर्नु पर्ने व्यवस्थापकीय सीपहरु व्यवस्थापकीय भूमिका, विद्यालय व्यवस्थापनका लागि तत्कालीन परिवेशमा लिनु पर्ने निर्णय क्षमता, शैक्षिक तथा कानुनी प्रावधान, शिक्षा सम्बन्धी अन्तराष्ट्रिय प्रतिवद्धता, राष्ट्रिय नीति तथा योजना, विद्यालय सुधार योजना तर्जुमा तथा कार्यान्वयनमा समस्याहरु देखिएका छन् । साथै यसमा नेतृत्व विकासका विभिन्न आयाम पक्ष, शैलीसंगै समसामयिक मुद्दाहरु रहेका छन् ।
२. सुशासनको प्रत्याभूतिः
विद्यालयलाई सफल र प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानाध्यापकको प्रशासनिक क्षमताको अभाव एउटा प्रमुख समस्याको रुपमा देखिएको छ । शिक्षक तथा कर्मचारी परिचालन र नियन्त्रण, शैक्षिक सुविधाको सधुपयोग तथा सुदृढीकरण रणनीति, शैक्षिक सूचना व्यवस्थामन प्रणाली, शिक्षक र विद्यार्थी आचारसंहिता कार्यान्वयन, सहकार्य तथा नेटवर्किङ सम्वन्धी विविध समस्याहरु रहेका छन् ।
३. शैक्षणिक योजना निर्माण तथा प्रवन्धः
विद्यालय शिक्षाको मेरुदण्ड शैक्षणिक प्रबन्ध, शिक्षा पद्धति तथा मूल्याङ्कनका नवीनतम साधनहरुको प्रयोगमा चुनौतीहरु देखिएका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शैक्षणिक योजना, विद्यार्थी मूल्याङ्कन, सूचना तथा सञ्चार प्रविधि, शिक्षण सिकाइ प्रक्रिया, विद्यार्थी परामर्श सञ्चालन तथा व्यवस्थापन सम्वन्धी समस्याहरु रहेका छन् ।
४. आर्थिक अवस्थाः
विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउन लगानी, विद्यालयमा मौजुदा स्रोत परिचालन र आर्थिक सुशासनका क्षेत्रमा समस्याहरु देखिएका छन्। यसैगरी विद्यालय सञ्चालनमा लगानीका सिद्धन्त विद्यालयको आर्थिक व्यवस्थापन, विद्यालयको बजेट व्यवस्थापन र सुशासन विद्यालय विकासको लागि दिगो स्रोत पहिचान र परिचालन सम्बन्धी समस्याहरु देखिएका छन् ।
५. खोज तथा अनुसन्धानात्मक कार्य
शिक्षण सिकाइमा खोज अनुसन्धान, विकास र परियोजना कार्य महत्वपूर्ण सामग्रीहरु मानिन्छन् । यस अनुसन्धानबाट प्राप्त नतीजाको प्रक्षेपण, कार्यमूलक अनुसन्धान विद्यालय विकास प्रस्ताव, सिकाइको सहजीकरण र शिक्षकको निरन्तर पेसागत विकास र वृति विकास सम्वन्धी समस्याहरु देखिएका छन् ।
समाधानका उपायहरु
१. विद्यालयको नेतृत्वः
कुनै पनि संघ संस्था वा सङ्गठनलाई सफल र प्रभावकारी रुपमा सञ्चालन गर्न कुशल र सक्षम नेतृत्वको आवश्यकता पर्दछ । सामुदायिक विद्यालयमा नेतृत्व शब्दले प्रधानाध्यापकलाई सङ्केत गर्दछ । नेतृत्व विद्यालय व्यवस्थापनको महत्वपूर्ण अङ्ग हो । लक्ष्य प्राप्तिका लागि अरुलाई व्यवस्थापन र मार्ग निर्देश गरी अनुप्राणित गर्न सक्ने क्षमता र तत्परता नै नेतृत्व हो । विद्यालय शिक्षाका ७५% समस्याहरु समाधान गर्न सक्ने अवस्था भनेकौ असल, सक्षम र कुशल विद्यालय प्रशासक हो । विद्यालय नेतृत्व भनेको विद्यालयका सरोकारवाला व्यक्तिहरु जस्तै शिक्षक, विद्यार्थी, अभिभावकमा निहित रहेको रुचि, क्षमता र चाहनालाई पहिचान गरी राष्ट्रले अपेक्षा गरेका राष्ट्रिय उदेश्य अनुरुप विद्यालयको सामुहिक लक्ष्य प्राप्तिका लागि मार्गदर्शन गर्ने प्रक्रिया विद्यालय नेतृत्व हो । विद्यालय नेतृत्वमा उदाहरणीय आचरण, भावनाशील, प्रभावशाली तथा प्रेरणादायक, मिलनसारिता, सहकार्यता, दूरदृष्टि र शीघ्र निर्णयदाता जस्ता विशेषताहरु हुनुपर्दछ ।
अरुलाई प्रभाव पार्ने क्षमता, लक्ष्य उन्मुख र परिस्थिति अनुरुप निर्णय लिन सक्ने क्षमता नेतृत्वका प्रकृति हुन् भने कुशल र सक्षम नेतृत्व प्रदान गर्न सक्ने, समन्वय गर्न सक्ने, प्रतिनिधित्व गर्न सक्ने, समस्या समाधानमा सक्रिय सहभागिता देखाउन सक्ने, उच्च मनोवल प्रदान गर्न सक्ने, परिवर्तनमुखी, इमान्दारिता र लगनशीलता नेतृत्वका कार्यहरु हुन् ।
डर, त्रास, धाक, धम्की प्रयोग गरेर दवावका साथ आफूले सोचे अनुरुप काम गराउनु भन्दा शक्ति वा अधिकारलाई विकेन्द्रीकरण गरी सरोकारवालासँग विचार, विमर्श र अन्तरक्रियावाट उनीहरुको राय सल्लाह र सुझाव अनुरुप नेतृत्व प्रदान गर्दा उपयुक्त हुन्छ । यसका लागि प्रजातान्त्रिक शैली अवलम्वन गर्नु पर्दछ ।
शैक्षणिक नेतृत्व, रुपान्तरित नेतृत्व, विनिमय नेतृत्वका साथसाथै विद्यालय, समुदाय, अभिभावक, विद्यार्थी, नागरिक समाज तथा गैर सरकारी संस्थाहरुसंग राम्रो सम्वन्ध स्थापित गर्न समावेशी नेतृत्व प्रदान गर्न उपयुक्त हुन्छ ।
२ नेतृत्व विकासका उपायहरुः
नेतृत्व विकास परिस्थितिमा भर पर्दछ । परिस्थिति अनुरुप निर्णय लिन सक्ने क्षमताका साथसाथै प्रधानाध्यापकले निम्नानुसार आफ्नो नेतृत्व सीपको विकास गर्न सक्छन् ः
१. पेसागत क्षमतामा अभिवृद्धि ः
आफ्नो शैक्षिक योग्यतामा अभिवृद्धि गर्नुले प्रधानाध्यापकको नेतृत्व विकासमा सहयोग पुग्दछ । आफ्नो दक्षतामा वृद्धि तथा विशेषज्ञतामा वृद्धिका साथसाथै सहयोगीहरुलाई आवश्यक्ता अनुरुप सहयोग गर्नाले पेसागत दक्षतामा अभिवृद्धि हुन्छ ।
२. स्वमूल्याङ्कनः
प्रभावकारी नेतृत्व विकासको लागि आफ्नो मूल्याङ्कन आफैले गर्ने, अरुबाट पृष्ठपोषण लिने गर्नाले आफ्ना कमी कमजोरी सुधार गर्ने अवसर प्राप्त हुन्छ र नेतृत्वको विकास हुन्छ ।
३. सम्वन्धको विकास
सामुदायिक सम्वन्धको निकासकालागि प्रचार, प्रसार, बहस, पैरवी गर्ने सीप आवश्यक हुन्छ । सहयोग आदान–प्रदान गर्नुका साथै प्रधानाध्यापकले स्रोत र साधनको उत्पादन तथा परिचालन गर्ने जस्ता आवश्यक क्षमताको विकास गर्नु पर्दछ ।
४. पेसागत दक्षताको विकासः
कुनै पनि संस्थाको नेतृत्वले आफ्नो पेसागत दक्षता अभिवृद्धि गर्दै जानु पर्दछ । वर्तमान सन्दर्भमा आधुनिक प्रविधिमा आफ्नो पहुँच तथा क्षमता हासिल गर्ने कार्यलाई निरन्तरता दिनु पर्दछ । अरुले भन्दा भिन्न तरिकाबाट कार्य सम्यन्त गर्ने क्षमता प्रदर्शन गर्न सकेमा नेतृत्वको विकास हुन्छ र आउने समस्याहरु समाधान गर्न सहज हुनेछ ।
समग्रमा भन्नु पर्दा सामुदायिक विद्यालयका अधिकांश समस्याहरु सक्षम र कुशल प्रधानाध्यापकबाट समाधान हुन सक्छन् । त्यसैले असल, सक्षम र कुशल प्रधानाध्यापकको व्यवस्थापनमा नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको साथसाथै भौतिक विकास संभव छ ।
( लेखक हुमनाथ आचार्य नेपाल निवृत्त शिक्षक समाज नवलपरासीका जिल्ला अध्यक्ष तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य हुनुहुन्छ )
अस्तु
मितिः २०८०/०८/२२
बर्दघाट, नवलपरासी