sunwal

प्रेस स्वतन्त्रता र सुरक्षाको मागगर्दै बर्दघाट प्रेस क्लबले ज्ञापन पत्र बुझायो ।

37

बर्दघाट,भदौ– ६
बर्दघाट प्रेस क्लबले बर्दघाट नगरक्षेत्रमा प्रेस स्वतन्त्रता र सुरक्षाको मागगर्दै बर्दघाट नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको छ । प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को नेतृत्वमा गएको क्लबको कार्यसमिति र सदस्यहरु सहितको टोलीले नगरमा ज्ञापन पत्र बुझाएको हो।

बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट प्रेस क्लबले बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर प्रवक्ता सन्त बहादुर गाहा र सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको थियो ।

बर्दघाट नगरभित्रका विभिन्न विषयबस्तुहरुलाई सञ्चार माध्यममा प्रकाशन / प्रशारण गरेकोमा विभिन्न पक्षहरुले समाचार सँग सम्बन्धित रहेर संचारकर्मीहरुलाई चेतावनी पुर्ण भाषा तथा अभिव्यक्ति आएको भन्दै क्लबले नगरलाई ध्यानाकर्षण गराएको क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण)द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदिय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई धम्क्याउने तथा संचार समाग्रीहरु तोडफोड गर्ने प्रयास गर्ने गरीएको ज्ञापन पत्रमा उल्लेख छ । क्लबद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ‘समाचार लेखनको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी प्रावधान रहेको स्मरण गराउन चाहन्छौँ ।’
नेपालको संविधान २०७२ को धारा १७ को २ (क )मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हक, धारा १९ मा सूचनाको हक अन्तरगत रहेर आफूहरुको ध्यानाकर्षण भएको क्लबको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख श्रेष्ठले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाका सवालमा नगरबाट कुनै समस्या सृजनाहुन नदिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी पत्रकारहरुले मागेका सुचनाहरु सहज रुपमा नै उपलब्ध गराउने प्रतिवद्धता गर्नु भयो ।