Holi care school

बर्दघाट नगरपालिकाद्धारा लम्पि स्किन विरुद्धको भ्याक्सीन लगाईदै ।

96

कृष्ण ढकाल
बर्दघाट,साउन–७

बर्दघाट नगरपालिकाले नगरका पशुपालक किसानहरुको गोठमा रहेकापशुहरुमा लम्पी स्किन रोग फैलिनवाट जोगाउनका लागि भोलि देखि किसानहरुको गोठ–गोठमा खोप सहित पशु स्वास्थ्यकर्मीहरुलाई खटाएउने तयारी गरेको छ ।

आज बर्दघाट नगरपालिकाको पशुपंक्षि शाखाले नगरका पशु सेवा प्राविधिकहरु सहितको बैठक बसालेर भोली देखि निःशुल्क लम्पि स्किन विरुद्धको भ्याक्सीन लगाउने निर्णय समेत गरेको छ ।

आज नगरमा बसेको बैठकले वडा नम्बर १४, १५, १६ मा पशु सेवा प्राविधिक रामप्रसाद पौडेल, १२ र १३ भिम बहादुर थारु, ८ र ९ लेखनाथ बस्याल, २, ३, ४, १० र ११ रमेश पाण्डेय १, ५, ६ र ७ अभिषेक लामिछानेले लम्पि स्किन विरुद्धको खोप लगाउने गरी कार्यक्षेत्र समेत बिभाजान गरेको पशुपंक्षी विकास शाखाका प्रमुख भरत लम्सालले बताउनु भयो । लम्सालका अनुसार नगरमा ३ हजार ५ सय गाई बाच्छा बाच्छी र ३ हजार भैसी पाडा पाडी गरी ६ हजार ५ सय पशुलाई खोप लगाईनेछ ।ू

२०७७ सालमा नगरमा देखिएको लम्पिस्किन रोगबाट अहिले सम्म ५ देखी १० प्रतिशत पशुको मृत्यु हुने गरेको पशुस्वास्थ्य प्राविधिक चन्द्रकला रेग्मीले बताउनुभयो । उहाँले लम्पिस्किनका कारण गाई भैंसिले ९० प्रतिशत सम्म दुध घटाउँने र पशुमा बाँझोपनको समस्या बढ्ने गरेको बताउनु भएको छ ।

यस रोगको सङ्क्रमण हुँदा गाईभैंसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु सम्म हुने संभावना रहने पशु सेवा प्रविधिक राम प्रसाद पौडेलले बताउनु भएको छ । यो रोग भुसुना तथा अन्य किराहरुको टोकाईबाट एक पशुबाट अर्को पशुमा सर्ने गरेको पशुसेवा प्राविधिकहरुको भनाई रहेको छ ।