Sarawal sit lahar Notis

बर्दघाट नगरपालिकामा कर्मचारी भर्ना प्रक्रिया प्रति अक्तियारको चाँसो

155

नारायण भण्डारी
बर्दघाट,माघ–२५
बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल सहित १२ जनाको नियुक्ति प्रक्रिया प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चांसो राखेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको नजर परेको हो । पौडेलले शाखा अधिकृतको बराबर तलब लिदै आएको स्रोतको दाबी छ ।
नगरपालिकालाई कर्मचारी राख्दा दरबन्दी सिर्जना नगरी राजनैतिक भागवण्डाका आधारमा आफुखुसी राखिने गरेको आरोप लाग्ने गरेको छ । अख्तियारले कर्मचारीहरु कुन प्रक्रियाबाट राखिएको हो ? राख्न मिल्ने वा नमिल्ने के हो ? सो सम्बन्धमा जवाफ मागेको हो । अख्तियारको अनुसन्धानको क्रममा प्रक्रिया पुरा नगरी कर्मचारी राखिएको ठहर भए ती कर्मचारीहरुले हाल सम्म खाईपाई आएको पारिश्रमिक बापतको रकम बेरुजु कायम हुनेछ ।
अख्तियारको पत्रको बारेमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटासंग जिज्ञासा राख्दां नगरपालिकामा संगठन ब्यबस्थापन (ओ एन एम ) तयार नभएका कारण अफ्ठेरो भएको प्रतिक्रिया दिनुभयो । ओ.एन. एम.ले नगरपालिकामा कुन कुन शाखा, कति कर्मचारी आवश्यक हो भन्ने यकिन गर्दछ । हाल सम्म बर्दघाट नगरपालिकामा ओ. एन. एम. तयार गरिएको छैन् ।

चालु बर्षमा बर्दघाट नगरपालिकाको अख्तियारमा १६ वटा उजुरी रहेको छ ।