Sarawal sit lahar Notis

अतिविपन्नहरुलाई पुनः प्रयोग गर्न सकिने कपडा संकलन गर्ने निर्णय

118

रवि पाण्डेय

बर्दघाट,पौष–१८

बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गर्ने भएको छ । समितिको सोमवार बसेको बैठकले जाडो तथा शितलहरबाट अतिबिपन्न नगरवासीलाई वितरण गर्नका लागि पुनः प्रयोग गर्न सकिने कपडा संकलन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले बिभिन्न सरोकारवाला सम्मिलित न्यानो कपडा संकलन समिति समेत गठन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराउनुभयो । उहाँका अनुसार पुनः प्रयोग गर्न मिल्ने कपडा संकलन गर्नका लागि आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यको नेतृत्वमा ६ सदस्सीय न्यानो कपडा संकलन समिति गठन गरिएको छ ।

उक्त समितिमा उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतम , पत्रकार रवि पाण्डेय , रेडक्रसको तर्फबाट राधा ढकाल सदस्य रहेको उहाँले जानकारी दिनुभयो । संकलित कपडालाई एक द्वार प्रणाली मार्फत वितरण गर्ने योजना रहेको सापकोटाले बताउनुभयो। त्यस्तै जाडोलाई ध्यान दिदै राहत दिने उद्देश्यले जिल्ला बन पैदावार आपूर्ति समितिबाट सहुलियत दरमा २ चट्टा दाउरा नगरपालिकाले खरिद गरेर बिपन्न बस्तीहरुका सामुहिक धुनी लगाउने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

नगरका प्रमुख शितलहर प्रभावित विपन्नहरु रहेका बस्तीहरुमा सम्बन्धित वडाध्यक्षहरुको समन्वयमा टोल विकास समितिहरुलाई परिचालन गरि अति विपन्न हरु बसोबास गर्ने चोकहरुमा सामूदायिक आगो ताप्ने प्रबन्ध मिलाइने सापकोटाको भनाई छ । यसको समग्र व्यवस्थापन गर्न नगरपालिका अन्तरगत गठित बन तथा बातावरण समितिका संयोजक रहनुभएका वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीको संयोजकत्वमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भिमसेन विष्ट , नगर प्रहरी पिताम्बर सापकोटा, पारिजात सामुदायिक बन उपभोक्ता समुह र चिसापानी सामुदायिक बनका प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको छ ।

दाउरा वितरणलाई प्रभावकारी बनाउन सामुदायिक बनले आफ्नो कार्ययोजना भित्र रहेर वितरण गर्ने र नगरपालिकाले वितरण गर्ने दाउरालाई सम्बन्धित वडाध्यक्षहरुको समन्वयमा एकद्वार प्रणालीबाट वितरण गर्ने समेत योजना बनाइएको छ । बैठकमा नगर प्रमुख श्रेष्ठले सबै सरोकारवालाहरु मिलेर नगरवासीलाई जाडो तथा शितलहरबाट बचाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा उपप्रमुख रुद्र प्रकाश उपाध्याय, विपद् ब्यवस्थापन समितिका फोकल पर्सन पुस्कर काफ्ले , कृष्ण थापालगायत समिति आबद्ध बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बिभिन्न सुझाव दिनुभएको थियो।