राजनीतिको उच्चारण हुनासाथ भिन्न व्यक्तिहरुको भिन्न भिन्न अवधारणाहरु आ–आफ्ना मानसपटलमा हलचल मच्चाउने गरि आउने गर्छन । आज राजनीतिलाई सकारात्मक भन्दा नकारात्मक क्रियाकलापका रुपमा बुझाउने र बुझ्ने गरिएको छ । यसले आकर्षण भन्दा विकर्षणको परिणाम देखाउँछ । समाजमा झुटको प्रतिकात्मक अर्थ राजनीतिसँग जोडिन्छ । ढिलासुस्ति, स्वार्थ, अयोग्यलाई स्थान, योग्य बहिस्कृत, क्षमताको अवमूल्यन आदि धेरै नकारात्मक विषयहरुको प्रतिकात्मक उत्तर राजनीति वा राजनीतिक नेता भन्ने बुझाउने भैसकेको छ । फेरी पनि हामी आम मानिषहरु राजनीति बाट प्रत्यक्ष प्रभावित भने भैरहेका छौँ । हामीले राजनीतिको प्रभाव भन्दा बाहिर कुनैपनि निर्णय वा कार्य गर्न सक्दैनौँ । मानिसका जीवन व्यवहारमा प्रभाव पार्ने सम्पूर्ण विषयहरु समेटेर राज्य संचालन गर्ने नीति राजनीति फेरी पनि वितृष्णाको विषय कसरी बन्न सक्छ विषय अाँफैमा गम्भिर छ । अधिकांस नागरिकहरुको अप्रिय हुँदाहुँदै पनि म राजनीति वाट बाहिरिन किन खोजिरहेको छैन ? अथवा भनौँ सकिरहेको छैन ? म भित्र कहिलेकाही यी र यस्ता प्रश्नहरु उब्जने गर्छन र उत्तरको खोजिमा म घोत्लिने गर्दछु ।
विद्यार्थी जिवनमा म भित्रका विद्रोहि भावना, भविष्यको कल्पना र तत्कालिन व्यवहार प्राप्त संगतका कारण राजनैतिक, साँगठनिक र संघर्षका कार्यक्रमहरुमा प्रत्यक्ष–परोक्ष सहभागिता जनाउने गरेको थिए । प्रत्यक्ष सहभागि हुँदा देखिएका र भोगिएका सिद्धान्त र व्यवहार बिचको अन्तरले म राजनीति बाट बाहिरिए किनकी म भित्र सत्यवादिताको भूत सवार थियो ।
बिस्तारै जीवन स्वरोजगार हुँदै जीवन व्यवहारका थप अनुभूति र अभ्यासमा लाग्यो । समाजभित्र हुने गरेका विभिन्न विकृति र विसंगतिका बिरुद्धको किनारमा आफूलाई उभ्याउने प्रयास गरेँ । समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुले सामुहिक रुपमा संस्थागत एवं सार्वजनिक सम्पति दोहन गरेका थिए । म लगायतका केहि व्यक्ति त्यसको विरुद्धमा उत्रियौँ । निष्कर्षमा राजनीतिक संगठन हाबी भयो । आफ्नो राजनीतिक नेतृत्वले गरेको कमजोरीप्रति संगठन भित्रका अन्य सदस्यहरुले औला ठड्याउने जाँगर गरेनन् अथवा भनौँ हिम्मत गरेनन् । फलतः त्यो दोहनलाई निष्फल पार्न सकिएन ।
समाजमा गरिबीको प्रकोप ठूलो थियो । प्रजातन्त्रको स्थापना पश्चात देशमा गरिवी न्यूनिकरणको उद्धेश्य सहित सहकारीहरुको स्थापना गर्ने प्रतिस्पर्धानै थियो । फिजारिएको सानो सानो पूंजिलाई सहकारी मार्फत संकलन गर्ने र स्वरोजगार हुन चाहने आफ्ना सदस्यहरुलाई कर्जाका रुपमा उपलब्ध गर।ई राष्ट्रमा उत्पादन बृद्धि तथा रोजगारीको अवसर सृजना गर्ने मुख्य उद्धेश्य थियो । यो अभियानमा सहभागी भएपछि फरक अनुभूति भयो । जुन वर्गलाई स्वरोजगार हुन वा भविष्य सुरक्षित गर्नका लागि सहकारीको आवश्यकता छ, त्यो वर्ग सहभागी हुन खोज्दैन तर जुन वर्ग बैँकमा शेयर हुने महत्वाकाँक्षा पूरा गर्न नसकेपछि सहकारी अभियानमा सामेल हुन्छ र सहकारीलाई निजी बैँक सरह संचालन गर्न प्रयासरत हुन्छ । सहकारीमा सहभागी हुनेहरु आज पनि त्यसले उत्पादनमा कति सहयोग गर्यो, रोजगारीको सृजना कति गर्यो विभिन्न सिपहरु समुदायमा भित्रयाउन कति सफल छ भन्नेमा भन्दा वार्षिक बोनस कुन संस्थाले बढि वितरण गर्छ भनि मूल्यांकन गर्ने गरेको पाइन्छ । आवश्यकता अनुसारको रोजगारी सृजना गर्ने कार्यमा सहकारी पनि सफल हुन सकेको पाइँदैन ।
आफू परियो सानो सानो व्यापारी । व्यवसायीहरुको संगठन भएमा उक्त संगठन मार्फत स्थानिय व्यवसायीहरुको हितमा प्रशस्त काम गर्न सकिन्छ कि भन्ने आशा पलायो । सरसफाई, सडक वत्ती, अग्रजहरुको सम्मान गर्ने परिपाटी असल कामको प्रोत्साहन आदि कार्यको थालनी गरियो । दिगो बनाउनको लागी प्रयत्नहरु गरिए । केही सकारात्मक छायाँ देखिन थाल्यो । राजनीति र राजनैतिक नेतृत्व बाधक बनेर अगाडि उभियो । काममा व्यवधान तेस्र्याउन उद्यत देखियो । आम नागरिकहरुको समर्थन रहेता पनि राजनैतिक नेतृत्व संग प्रतिवाद गर्ने साहस थिएन । पछि हट्नुको विकल्प रहेन । व्यक्तिगत रुपमा अझ ठूलो र स्थापित संख्याको नेतृत्व प्राप्त भयो ।
यसरी विभिन्न संघ संस्था र क्षेत्रमा काम गर्दा अनुभूति भयोकि ति संघ संस्था र क्षेत्रबाट आंशिक वा केहि सिमित मात्र कार्य सम्पादन गर्न सकिन्छ । यदि राजनैतिक नेतृत्वमा रहने हो भने सबै क्षेत्रमा एकै साथ धेरै गर्न सकिन्छ भन्ने गहिरो गरी महशुस भयो ।
एउटा असल र निश्वार्थी राजनीतिक व्यक्तिले नेतृत्व प्राप्त गर्न सकेमा आफ्नो कार्य क्षेत्र भित्रका सम्पूर्ण सार्वजनिक जग्गा लगायतका सार्वजनिक सम्पत्तिको रक्षा साथै उक्त सम्पत्ति समुदायका नागरिकहरुको सामूहिक हितमा प्रयोग गर्न सक्छ, आफ्नो कार्यक्षेत्र भित्र रहेका सबै संघ–संस्था सहकारीहरुलाई त्यसको मूल मर्म अनुसार समुदायको हितमा परिचालन हुने वातावरण तयार गर्न सक्छ, सामुदायिक विद्यालयवाट शिक्षा मात्र होइन ज्ञान पनि प्राप्त गर्ने, स्वरोजगार बन्ने, व्यवहारीक बन्ने, अनुशासित हुने, अरुको भलो सोच्ने आकर्षक र भरोसा योग्य नागरिक निर्माण हुने वातावरण तयार गर्न सकिन्छ, सामुदायिक र सरकारी स्वास्थ्य सेवा समाजका भुई मान्छेहरु सम्म सहज र सरल रुपमा पू¥याउन सकिन्छ, युवाहरुमा बढ्दो निराशा, कुण्ठाबाट सिर्जित लागूऔषध दूर्वेसन, आत्महत्या, लडाई, झगडा, सामाजिक अराजकतालाई न्यूनिकरण गरी युवाशक्तिलाई सिप, ज्ञान उपलब्ध गराई उत्पादनको मूख्य शक्ति, स्वरोजगार, कृतिमानि खेलाडी आदि क्षेत्रमा सम्मानजनक र सुरक्षित व्यवस्थापन गर्न सकिन्छ । खाने, लगाउने, सुरक्षित वास, स्वच्छ खाने पानी, व्यवहारिक शिक्षा, आवश्यकता अनुसारको स्वास्थ्य उपचार, रोजगारीको नयाँ सम्भावनाको खोजी, आवश्यकता अनुसार मनोरञ्जन, बालबालिका, बृद्ध, अपाङ्ग, महिलाहरुलाई सामाजिक सम्मानका साथ पर्याप्त सुरक्षा प्रदान गर्न सकिन्छ । अन्य विकासको पूर्वाधारहरु माथि उल्लेख गरिएका मानविय आवश्यकतालाई पूरा गर्न सरल र सहज बनाउने गरी गर्न सकिन्छ । यी सबै काम गर्न राजनीतिबाट प्राप्त हुने नेतृत्वमा मात्र संभव छ ।
फेरी प्रश्न उठ्छ अहिले पनि राजनीति छ, राजनैतिक नेतृत्व छ फेरी यी सबै कार्यहरु हामीलाई सन्तुष्टि हुने गरी किन भैरहेका छैनन् ?
हो वास्तवमा सबै राजनैतिक नेतृत्वले गर्नुपर्ने भूमिका यिनै हुन तर सबैको प्राथमिकतामा यस्ता विषय नपरेको हुन सक्छ । सत्ताको राप–ताप, प्रतिष्ठा, सुख–सयल, सुबिधाहरुमा व्यक्ति अन्धो हुन सक्छ । भनिन्छ सत्यको कमजोरीले असत्य माथि पर्छ । सत्य, असल चाहना राख्ने सबैले आफूलाई कमजोरीबाट बचाउन सक्ने हो भने मात्र सत्य अगाडी लाग्ने छ । जो संग एक प्रकारको विश्वास, आशा र प्रतिवद्धता छ, उ बाटै राजनीतिमार्फत नै खराब विषयको न्यूनिकरण र असल र आवश्यक विषय स्थापित गर्न सकिन्छ ।
म परिवर्तन गर्न तयार छु । के तपाई परिवर्तनको लागी अवसर प्रदान गर्न तयार हुनुहुन्छ ? हुनुहुन्छ भने आउनुहोस हाम्रो आफ्नै र आफ्ना सन्ततिको भविष्य उज्जवल र सुनिश्चित गर्न संगै अघि बढौँ ।
अस्तु
✍️ रुद्र प्रकाश उपाध्याय
बर्दघाट नगरपालिका –४