sunwal

बर्दघाट नगरपालिका वडा नम्वर–२ मा चुरा बनाउने तालीम सम्पन्न् ।

116

कृष्ण ढकाल
बर्दघाट,फागुन–९
बर्दघाट नगरपालिका वडा नम्वर–२ को आयोजना र गाउँले दर्पण मिडिया प्रा.लि.बर्दघाटको ब्यवस्थापनमा भएको दुई दिने चुरा बनाउने तालीम समापन भएको छ । तालीमको समापन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले बिभिन्न प्रकारका सिपमुलक तालीमहरु प्रदान गर्दै आएको बताउनु भएको थियो ।
उहांले महिलाहरुले आफुलाई आवश्यक पर्ने चुरा निमार्ण गर्ने कार्य मात्र नभएर अन्य उपभोग्य वस्तुहरु निमार्णका लागि सिप सिकाउन नगरपालिका तयार रहेको बताउनु भएको थियो । अहिले सम्म नगरपालिकाले सिप युक्त तालीमहरु धेरै प्रदान गरेको भएपनि तालिम लिईसकेपछि ब्यवसायिकरुपमा त्यसको प्रयोग कम हुने गरेको भन्दै आफुले सिकेको सिपलाई प्रयोगमा ल्याउन आग्रह गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामीले महिलाहरुलाई सोभाग्य सामाग्री बनाउने तालिम दिने र आफैले बनाउन सक्ने बनाउने उद्धेश्य पुरा भएको प्रति आफु अत्यन्तै खुशी भएको बताउनु भएको थियो । हिजो अर्थात आईतवार देखि शुरु भएको तालीममा बर्दघाट नगरपालिका वडा नम्वर–२ का महिलाहरुले निक्कै उत्साहका साथ तालीममा रहेर सुन्दर चुराहरु निमार्ण गरेको प्रति खुशि ब्यक्तगर्दे तालीमको ब्यवस्थापन गर्ने संस्था गाउँले दर्पण मिडयालाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

त्यस्तै तालीममा सहभागिहरुको तर्फवाट लीला कुमारी पौडेल र गंगा ज्ञवालीले बोल्दै दुईदिनको समयमा आफुहरुले चुरा बनाउने सिप सिके पनि अब त्यसलाई पूर्णता दिन टिका,पोटे र टप बनाउने तालीम पनि दिन आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

४० बढी महिलाहरु सहभागि रहेको उक्त तालीममा उषा चौधरीले सहजीकरण गर्नु भएको थियो । चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा भएको तालीम समापन कार्यक्रम बर्दघाट नगरपालिका वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र गाउँले दर्पण मिडियाका कार्यकारी निर्देशक कृष्ण ढकालको संचालनमा सम्पन्न् भएको थियो । सो अवसरमा वडा सदस्य दधिकला पौडेल,बर्दघाट नगर खेलकुद् विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ,समाज सेवी युवराज डुम्रे लगाएतको उपस्थिती रहेको थियो ।