Sarawal sit lahar Notis

नेपाल ब्यवसायिक बाख्रापालक महासंघ बर्दघाट नगरसमितिको अध्यक्षमा न्यौपाने

58

२७ मंसिर
बर्दघाट नगरपालिका नगर प्रमुख धीरज शर्मा बस्यालले मासु उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउन कृषकले उत्पादन लागत घटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल ब्यवसायिक बाख्रापालक महासंघ बर्दघाट नगर समितिको प्रथम अधिबेशन उद्घाटनसत्रलाई सोमवार सम्बोधन गर्दै उहाँले उत्पादन लागत कम नगरे सम्म कृषकहरु टिक्नै नसक्ने बताउनुभयो ।
उत्पादन लागत कम नगरे सम्म मुनाफा हुदैन – उहाँले सो अवसरमा भन्नुभयो – मुनाफा विना ब्यवसाय दिगो हुदैन । हामी तपाईहरुको उत्पादनको लागत कम गर्न प्रयत्नरत छौ । नगर प्रमुख बस्यालले नगरले पशु तथा कृषि विकासमा उल्लेख्य काम गरेको बताउदै नगरलाई छिट्टै मासुमा आत्मनिर्भर बनाउने बताउनुभयो । हामीले बाख्रा पकेट कार्यक्रम संचालन गर्दै आएका छौ – उहाँले भन्नुभयो – अब आत्मनिर्भर हुने पालो मासुजन्य बस्तुको हो । बर्दघाट नगर दुध तथा अण्डामा आत्मनिर्भर भइसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलले महिलाहरुको जिविकोपार्जनमा बाख्रापालन अति महत्वपुर्ण ब्यवसाय रहेको बताउनुभयो । उहाँले कृषकहरुको हितका लागि नगरपालिका सधै तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरले आफ्नो साधन स्रोतको सीमाभित्र रहेर बाख्रापालकहरुलाई सहयोग गर्दै आएको चर्चा गर्दै नगरपालिका सधै कृषकको पक्षमा रहेको बताउनुभयो ।
उक्त कार्यक्रमको समन्वय तथा सहकार्य बर्दघाट नगरपालिकाको रहेको थियो । कार्यक्रममा बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाका भेटेनरी अधिकृत भरत लम्साल, नेपाल ब्यवसायिक बाख्रापालक महासंघका जिल्ला अध्यक्ष घनश्याम आलेलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै महासंघको बन्द सत्रले पशुपति न्यौपानेको अध्यक्षतामा १५ सदस्सीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धुब्र कुमारी सापकोटा, सचिवमा सुजन खनाल र कोषाध्यक्षमा दान प्रसाद चापागाई रहनुभएको छ ।
त्यस्तै सदस्यहरु गोपाल पौडेल , बीर बहादुर राई, लक्ष्मी रिजाल, आइशोभा तामाङ, लिला ढकाल, सन्तोष लामिछाने ,यशु तामाङ, बिष्णु माया तामाङ, मोहन गुरुंग, नारायण विश्वकर्मा रहनुभएको छ ।

अधिबेशनमा नीजि ब्यवसायिक फर्म, बाख्रापालक समुह तथा सहकारी समुहका ४५ बढी प्रतिनिधि पर्यबेक्षकहरुको सहभागिता रहेको थियो ।
अधिबेशनले पुष १ गते हुने जिल्ला अधिबेशनका लागि ७ जना जिल्ला प्रतिनिधि समेत सर्बसम्मत चयन गरेको छ । जसमा रवि पाण्डेय, पशुपति न्यौपाने , सुजन खनाल,लक्ष्मी रिजाल,आइशोभा तामाङ, गोपाल पौडेल, नारायण विश्वकर्मा रहनुभएको छ । अधिबेशन हरि प्रसाद दुवाडीको अध्यक्षतामा भएको थियो ।