sunwal

बुद्धकालीन क्षेत्र पण्डितपुरमा उत्खनन् शुरु

483

मोहन पौडेल

परासी,१९ चैत

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ स्थित प्राचीन बुद्धकालिन स्थल पण्डितपुर क्षेत्रको उत्खनन् पुनः शुरु भएको छ । पुरातत्व विभागको टोलीले पाँच दिनदेखि उत्खनन् गरिरहेको हो । यसअघि गरिएको भू–भौतिक सर्वेक्षणबाट प्राप्त पुरातात्विक संरचनाहरुको पुष्टि गर्न अहिले दोस्रो चरणको उत्खनन् थालिएको पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । गत मंसिरमा करिब एक महिना लगाएर पहिलो चरणको उत्खनन् गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा रामग्राम नगरपालिकाको समन्वयमा अहिले थालिएको उत्खनन् कार्य पनि करिब एक महिना चल्ने ज्ञवालीले बताउनुभयो । जियो फिजिक्स सर्भेले यस क्षेत्रमा बुद्धकालीन प्राचीन शहर रहेको फेला परेको थियो । पहिलो चरणको उत्खनन्बाट प्राचीन शहरका महत्वपूर्ण भग्नावशेष फेला परेकोले थप संरचनाहरु खोज्न अहिलेको उत्खनन् महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । अहिले पण्डितपुरको पश्चिमतर्फ पोखरी नजिकै निजी जग्गामा गरिएको उत्खनन्बाट धनुषवाण्मा प्रयोग हुने हाडका हतियार तथा आवाज आउने हड्डीका टुक्राहरु फेला परेका छन् भने पूर्वतर्फको बगँैचामा भईरहेको उत्खनन्मा प्राचीन ईट्टाको पर्खाल जस्तै संरचना भेटिएको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको पण्डितपुर क्षेत्रको संरक्षण तथा सम्बद्र्धनका लागि जग्गा अधिग्रहणको कामलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको पुरातत्व विदहरु बताउँछन् । लामो समयदेखि अध्ययन अनुसन्धान हुँदै आएको यो क्षेत्र बुद्धकालीन कोलिय गणराज्यको राजधानी प्रमाणीत हुने आधारहरु फेला पर्दै आएपनि यसको संरक्षणमा सरकारले ध्यान दिन सकेको छैन् ।