sunwal

पश्चिम नवलपरासीमा एसईई परीक्षाकाे तयारी पुरा

345

विकास अधिकारी

परासी,चैत्र–३

चैत ७ गते देखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित रुपमा सम्पन्न गर्न पश्चिम नवलपरासीमा आवश्यक तयारी पुरा भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला परिक्षा समन्वय समितिले परिक्षाको पुर्व तयारी सम्पन्न भएको जानकारी दिएका छन् । परिक्षा केन्द्र रहने विद्यालयका केन्द्राध्यक्षहरुलाई परिक्षा सम्बन्धि निर्देशिका तथा आवश्यक सामाग्री उपलब्ध गराईसकिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो ।

जिल्लामा एसइइ परिक्षाका लागी २३ केन्द्र निर्धारण गरिएको छ । कुल १२१ विद्यालय सहभागी हुने परीक्षामा ५७ सामुदायिक विद्यालय, ६२ वटा संस्थागत, १ खुला र १ धार्मिक विद्यालयहरु सहभागी हुनेछन् ।

साधारण, प्राविधिक र ग्रेडबुद्धि गरी परीक्षामा कुल ६ हजार ४१४ परीक्षार्थी सहभागी हुने जनाईएको छ । २३ केन्द्र मध्ये प्राविधिक र २०७८ को पुरानो ग्रेडवृद्धितर्फको परीक्षाका लागि सरस्वती मावि रामग्राममा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सबै परिक्षा केन्द्रमा उत्तरपुस्तिका सहितका आवश्यक समाग्री पुगिसकेको छ भने प्रश्नपत्र परिक्षा केन्द्रको नजिकको प्रहरी चौकिमा पुगिसकेको बताउदै इकाई प्रमुख सुवेदिले ढुक्क भएर परिक्षा दिन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो । गत वर्ष ५ हजार १ सय७६ जनाले परिक्षा दिएकोमा जम्मा ३४ प्रतिशत मात्र उत्तिर्ण भएका थिए, यस वर्ष नतिजामा पनि सुधार आउने अपेक्षा गरिएको सुवेदिको भनाई छ ।

केन्द्राध्याक्षसंगको अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले परिक्षालाई व्यवस्थीत रुपमा सम्पन्न गर्नुका साथै गर्मिको समय भएकाले परिक्षाहलको वातावरण मैत्रिपुर्ण बनाउन पनि सबै विद्यालयलाई आग्रह गर्नुभयो । साथै प्राथमिक उपचारका लागी पनि विद्यालयका केन्द्राध्यक्षहरुलाई आवश्यक व्यवस्थापनको निर्देशन दिईएको यादवले बताउनुभयो ।

जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एसइइ परिक्षामा केन्द्राध्यक्ष बढि जिम्मेवार हुनुपर्ने बताउदै शान्तीपुर्ण वातावरणमा परिक्षा दिने व्यवस्था गर्न सुरक्षा निकाय प्रतिवद्ध रहेको बताउनुभयो । सो क्रममा प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, शसस्त्र प्रहरी उपरिक्षक सन्तोष रायमाझीले सुरक्षा निकायले समन्वय गरेर परिक्षालाई शान्तीपुर्ण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।