कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
सरकारले गरेको छानबिनप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग गठन गर्नुपर्ने बताउनु भएको छ । हरेक नागरिकलाई सबै दलका नेता भ्रष्टाचारी जस्तो लागे पनि गल्ती गर्नेले मात्रै सजाय भोग्नुपर्ने जिकिर गर्नु भएको थियो । आज सुनवलमा आयोजित नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा भन्नु भएको हो ।
देशमा राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेका छन् भन्ने आम नागरिकको धारणा भएपनि जसले गल्ती गर्छ, उसैले मात्र भोग्नुपर्छ निर्दोषहरूले डराउनु पर्दैन भन्दै महामन्त्री थापाले अख्तियारको कामप्रति पनि असन्तुष्टि व्यक्तगर्नु भएको थियो ।
संसदिय छानबिन समिति वा पूर्व न्यायाधीशको नेतृत्वमा एक शक्तिशाली आयोग गठन गरी सम्पूर्ण ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्नुपर्ने थापाको भनाई रहेको थियो । आमा(मामा जो परे पनि सबैलाई छानबिनको दायरामा ल्याउनुन सरकार तयार हुनुपर्नेमा जोड दिनु भएके थियो ।
फरक प्रसंगमा महामन्त्री थापाले पछिल्लो समय नागरिकहरूमा व्यापक असन्तुष्टि देखिएको उल्लेख गर्दै व्यवस्था बदलिए पनि अवस्था किन नबदलिएको भन्ने गुनासोलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नु भयो । कांग्रेसले नागरिकहरूलाई बुझाउने दायित्व वहन गर्नुपर्ने भन्दै उहाँले संविधानको परिधिभित्र रहेर छलफल गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंण्डेलले भ्रष्ट्राचारको आरोप लागेका नेतालाई मंन्चमा राखेर काग्रेसको शुद्धिकरण नहुने धाराण राख्नु भएको थियो । उहाँले अब हरेक नेता र कार्यकर्ताहरुले सोच बदल्नु पर्नेमा जोड दिदै पार्टीमा अराजकता फैलाउनेलाई दण्ड दिनुपर्ने बताउनु भयो ।
अर्की केन्द्रिय सदस्य सरस्वती अर्यालले नवलपरासीमा काग्रेस भित्र देखिएको गुटबन्धिको खेलको गन्ध बाहिर सम्म पुग्ने गरेको बताउदै पार्टी एक बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो भने नेपाली काग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीलाई एक ढिक्का बनाएर जनतामा छाएको निराशा तोड्नु पर्नेमा जोड दिनुभयो । अहिले भ्रष्ट्राचार नियन्त्रण गरी ठुला विकास निर्माणका आयोजनाका काम समयमै सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको खनालको भनाई थियो ।
सुनवलमा आयोजित नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र १ को क्षेत्रीय सम्मेलनमा नेपाली काग्रेसका निमा गिरी, विक्रम यादव, भिम बहादुर थापा, वैजनाथ कलवार, उमेशचन्द्र यादव, कृष्ण नारायण श्रेष्ठ, दिपक भुषाल लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।