फागुन ११
पश्चिम नवलपरासीको बर्दघाट-९, शिवाबस्तीस्थित कैलासकोट शिव मन्दिरमा ११ दिने शिवपुराण ज्ञान महायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। फागुन ४ गतेदेखि सुरु भएको महायज्ञ १४ गते राति अखण्ड भजन-कीर्तनका साथ समापन गरिएको हो । ११ दिन सम्म संचालनमा रहेको महायज्ञ १५ गते फूलपाती सेलाएर विधिवत् रूपमा सम्पन्न गरिएको महायज्ञका संयोजक चन्द्रकान्त चापगाईंले जानकारी दिनुभयो। ” सम्पूर्णकाे सहयोगमा महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।” चापागाईंले भन्नु भयो। मन्दिर पुनर्निर्माण तथा धार्मिक-पर्यटकीय विकासको परिकल्पना साकार भएकोमा उहाँले हर्ष व्यक्त गर्दै महायज्ञमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो।
समापन सत्रमा सहयोगी मन्दिरका आजीवन सदस्य तथा दानदाताहरूलाई सम्मान गरिएको छ। श्री कैलासकुट शिव मन्दिरको पुनर्निर्माण तथा मन्दिर क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएकोमा उद्देश्य अनुरुप नै महायज्ञ सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले बताउनुभयो। २०७२ सालदेखि नै शिव पुराण महायज्ञ गर्न सपना रहेको उल्लेख गर्दै खरालले यस वर्षको शिवरात्रिमा आएर पूरा भएको बताउनु भयो।
महायज्ञमा प्रमुख उपवाचक पण्डित डा. हरी प्रसाद घिमिरेले धर्म र सत्कर्मको मार्ग मानव जीवनको सर्वोत्तम बाटो भएको बताउनुभयो। “कर्म र धर्मले नै व्यक्तिलाई चिन्तक बनाउँछ, शिव महिमा अपरम्पार छ,” उहाँले प्रवचनका क्रममा उल्लेख गर्नुभयो।
महायज्ञ अवधिभर झाँकी प्रदर्शनी, हवन, रुद्राभिषेक, कथा प्रवचन, महाआरती, भजन-कीर्तन, तथा प्रसाद वितरण जस्ता धार्मिक गतिविधिहरू गरिएको महायज्ञ आयोजक समितिका सहसंयोजक दीपक थापाले जानकारी दिनु भयो।
महायज्ञका लागि ३८ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी संकलन भएको आर्थिक समिति संयोजक भीम खनालले जानकारी दिनुभयो। “भक्तजनहरूबाट ३२ लाख नगद र ६ लाख जिन्सी संकलन भएको छ,” उहाँले भन्नुभयो। साथै, सहयोगी संघसंस्था तथा व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
महायज्ञमा भागवत अलङ्कार पं. नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनुभएको थियो भने महायज्ञको उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नुभएको थियो। महायज्ञले धार्मिक, आध्यात्मिक तथा सामाजिक जागरण ल्याउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ। आगामी दिनमा पनि धार्मिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेका छन्।