कृष्ण ढकाल
बर्दघाट,फागुन–१०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९, नाउँडाँडास्थित कैलासकोट शिव मन्दिरमा आयोजित ११ दिने शिवपुराण ज्ञान महायज्ञमा योग शिविर गरिएको छ।
बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको योग शिविरमा स्थानीय भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शिविरमा योगगुरु नरेश पंगिनीद्वारा विभिन्न योग अभ्यास तथा ध्यान प्रविधिहरूको सहजीकरण गरिएको थियो।
शिविरमा सहभागीहरूले प्राणायाम, सूर्य नमस्कार, ध्यान तथा शारीरिक लचकता वृद्धि गर्ने विभिन्न आसनहरू गराइएको थियो। योगगुरु पंगिनीका अनुसार योग अभ्यासले तनावरहित जीवन जिउन सहयोग गर्ने भएकाले महायज्ञ जस्ता आध्यात्मिक कार्यक्रममा योगलाई समेट्नु असल अभ्यास भएको बताउनुभयो।
स्थानीयहरू योग प्रति सकारात्मक देखिएका छन्। शिविरमा सहभागी एक भक्तजनले भनेले भने, “पहिलो पटक यस्तो शिविरमा सहभागी भएँ। बिहानै योग गर्दा ताजगी महसुस भयो। यो दैनिक जीवनशैलीमा अपनाउने सोच बनाएको छु।”
फागुन ४ गतेदेखि सुरु भएको ११ दिने शिवपुराण ज्ञान महायज्ञमा बिहान धार्मिक अनुष्ठान तथा प्रवचन भइरहेको छ भने दिनभर विभिन्न आध्यात्मिक तथा सामाजिक गतिविधिहरू आयोजना गरिँदै आएको छ।
आयोजक समितिका अनुसार महायज्ञबाट संकलित सहयोग राशि कैलासकोट शिव मन्दिर परिसरको पूर्वाधार विकासमा खर्च गरिनेछ। महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।