sunwal

बिराट शिव मूर्ति एवं वाटरफाउण्टेनपार्क निर्माणका लागि परियोजना प्रस्ताव पेश

681

बासाबसही,फागुन–९

सरावल गाउँपालिका–१, बासाबसही, नयाँटोल (वसन्तनगर) स्थित रजहवाको धार्मिक तथा पर्यटन महत्त्व उजागर गर्दै विकास गर्ने उद्देश्यले ‘बिराट शिव मूर्ति एवं फाउण्टेनपार्क निर्माण अभियान’ले लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री खड्क बस्नेत समक्ष परियोजना प्रस्ताव बुझाइएको छ ।

परियोजना प्रस्ताव बुझाउने क्रममा रजहवा शान्ति बनबाटिका अध्यक्ष जनार्दन भण्डारी, बनबाटिका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भुषाल, दुर्गा मन्दिर समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, वसन्तनगर टोल विकास संस्थाका अध्यक्ष लिलाधर पाण्डे, समाजसेवी खिमलाल पोखरेलसहित स्थानीय आमा समूह र युवाहरूको उल्लेखनीय उपस्थिति थियो ।

परियोजना प्रस्तुत गर्दै बनबाटिका अध्यक्ष भण्डारीले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई उजागर गर्न यो योजना अपरिहार्य रहेको बताए । उनले भने, “सरकारबाट बजेट विनियोजन भएपछि मात्र कार्यान्वयन गर्ने परम्परागत सोचभन्दा, समाजलाई एकीकृत गर्दै काम सुरु गर्नु उचित हुन्छ । स्थानीय तह, प्रदेश र केन्द्र सरकारको आवश्यक बजेट व्यवस्थापनको आशा र आम जनसमुदायको सहभागिताबाट यो योजना अघि बढाइएको छ ।”

निर्माण स्थल पर्यटकीय सर्किटको सम्भावनायुक्त स्थान रहेको बताउँदै भण्डारीले पूर्वमा दाउन्नेदेवी मन्दिर, पश्चिममा बाबा बर्दागोरिया धाम र मामीसतीसवरिया मन्दिर, उत्तरमा वसन्तहरियाली वन र दक्षिणमा बुद्धकालीन ककरपत्त नगर र रामग्राम स्तुप रहेको जानकारी दिए ।

प्रस्तावित योजना अनुसार २४ फिट फाउण्डेसन र २७ फिट बिराट शिव मूर्ति सहित कुल ५१ फिटको संरचना निर्माण गरिनेछ । साथै, १०८ गौमुखी स्नानधारा, १,११,१११ शिला शालिग्राम, धार्मिक-सांस्कृतिक सामग्री सहितको संग्रालय निर्माण गरिनेछ । यस परियोजनाले लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटन क्षेत्रको पहिचान प्रवर्द्धन गर्ने विश्वास अभियानका अध्यक्ष सेषकान्त भुसालले व्यक्त गरे ।

पत्रमा उल्लेख गरिएअनुसार बिराट शिव मूर्तिले धार्मिक पर्यटन प्रवर्द्धन गर्नेछ भने वाटर फाउन्टेनपार्कले स्थानीय बासिन्दा तथा आगन्तुकका लागि मनोरञ्जन तथा प्रकृतिसँग जोडिने नयाँ अवसर सिर्जना गर्नेछ । अभियानका कोषाध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेले परियोजना कार्यान्वयनका लागि नीति, बजेट तथा पूर्वाधार उपलब्ध गराउन सरकारसँग अपेक्षा रहेको बताए । परियोजनाको अनुमानित लागत करिब १ करोड रूपैयाँ रहेको जानकारी पनि दिइएको छ ।

परियोजना पत्र बुझ्दै प्रदेश सांसद खड्क बस्नेतले यस अभियानलाई प्रदेशसभामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “यस्ता परियोजनाले धार्मिक महत्त्व मात्र नभई आर्थिक, सामाजिक तथा पर्यटकीय उत्थानमा समेत योगदान पुर्‍याउँछ ।”

सांसद बस्नेतले स्थानीय बासिन्दा, व्यवसायी तथा संस्थाहरुलाई अभियानमा संलग्न हुन आह्वान गर्दै सामूहिक प्रयास मार्फत परियोजनालाई सफल बनाउनमा जोड दिए । यो अभियानले सरावल गाउँपालिका तथा नवलपरासी जिल्लाको पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।