कृष्ण ढकाल
बनकट्टि,पुस –१४
पिश्चम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ५ मा रहेको बनकट्टि वौद्व गुम्बा समितिले तमुहरूको महान धार्मिक चाड सप्री ल्होसारको उपलक्ष्यमा सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
बनकट्टि ५ गुम्बा परिसरमा भएको सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र, प्रगति टोल, सुनवल प्रर्थम हुदै नगद २५ हजार रुपैया हातपार्न सफल भएको गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य मिलन तमुले जानकारी गराउनु भएको छ ।
त्यसैगरी उक्त प्रतियोगितामा साहारा क्लब, सुनवल,द्वितीय भएर १५ हजार नगद प्राप्त गरेको छ भने नेपाल तमु गुरुङ विध्यार्थी छोंज धीं, नवलपरासीले तेस्रो स्थान हात पार्दै १० हजारमा चित्त बुझाएको छ । भने प्रतियोगितामा चौथो स्थानमा पर्न सफल द स्पाइन बोर्डिङ स्कुलले सान्तोना पुरस्कार स्वरुप ३ हजार रुपैया प्राप्त गरेको छ ।
गरूड वर्गलाई विदाई र सर्प वर्गलाई स्वागत गर्दै वनकट्टि गुम्बा परिवारले आयोजना गरेका उक्त सांस्कृतिक नृत्य प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिए ।
बनकट्टि वौद्व गुम्बा समितिका अध्यक्ष राम प्रसाद गुरूङको अध्यक्षता तथा सुनवल नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले नेपाल विभिन्न जात, धर्म ,भाषा, संस्कृतिको फुलवारी रहेको भन्दै एकताबद्ध भएर विकास क्रममा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो।
चुनावमा कुनै एक पार्टीको झण्डा लिएर विजयी भएपनि स्थानीय सरकार कुनै व्यक्ति र पार्टीको मात्र नभई सिंगो सुनवलबासीको रहेकोले कुनैपनि विभेद रहित तरीकाले आवश्यकतालाई हेरेर समान दृष्टिकोणले अगाडि बढेको बताउनु भएके थियो ।
नगरप्रमुख अर्यालले गुम्बा समितिले राखेको आवश्यक मागलाई स्थानीय सरकाले संवोधन गर्ने नसकेमा प्रदेश र केन्द्र सगँ सहयोग माग्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।
इच्छा बहादुर गुरूङको स्वागत र गुरूङ राष्ट्रिय महिला परिषद जिल्ला अध्यक्ष सीता गुरूङको संचालन रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्धक रन्जन राज गुरूङ, गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य मिलन तमु, सुकुम्बासी आयोगको जिल्ला सदस्य भविश्वर तिवारी , कार्यपालिका सदस्य जुठिमाया पुन ,हर्दिया बनकट्टि ईकाइका अध्यक्ष लिलाराम तमू,शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष गंगा तमू,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तमुहरूको जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो भने सांस्कृतिक नृत्य प्रतियोगिताको संयोजकत्व बखत बहादुर गुरूङले गर्नुभएको थियो ।