कृष्ण ढकाल
बर्दघाट,पौष–६
ब्यवसायीहरुले बिल सहित बैधानिक सुन चाँदी बोकेर हिड्दा पनि प्रहरी प्रशासनले ब्यवसायीहरुलाई राज्य विरुद्धको अपराधि जस्तो ब्यवहार गर्ने गरेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका विशिष्ठ सदस्य मोहन सुनारले बताउनु भएको छ । नवलपरासी सुनचाँदी ब्यवसायी संघको आठौं वार्षीक साधारण सभालाई सम्बोधनगर्दै उक्तकुरा बताउनु भएको हो ।
सुनचाँदी ब्यवसायीहरुलाई सरकारले शान्ति सुरक्षा दिन पनि नसक्ने र ब्यवस्थीत रुपमा ब्यापार गर्ने वातावरण समेत सृजना गर्न नसकेको गुनासो गर्नु भएको थियो । त्यसैगरी उद्योगी ब्यापारीहरुको अभिभावक संस्थाका रुपमा रहेको नेपाल उधोग वाणीज्य महासंघले आफ्नो वस्तुगत सदस्यका रुपमा रहेको सुनचाँदी ब्यवसायीहरुको समस्या प्रति कुनै ध्यान नदिएर ठुला घरानीया ब्यवसायीहरुलाई मात्र संरक्षण गर्ने गरेको गुनासो गर्नु भएको थियो ।
नवलपरासी सुनचाँदी ब्यवसायी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारको अध्यक्षता र नेपाल सुनचाँदी ब्यवसायी महासंघका विशिष्ठ सदस्य मोहन सुनारको प्रमुख आतिथ्यतामा बर्दघाटमा भएको कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष बुद्धि बहादुर वि.क ,सुनचाँदी व्यवसायी लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव गहतराज, बुटवल नगरका अध्यक्ष गोकर्ण विश्वकर्मा, सल्लाहकार विष्णु विश्वकर्मा, प्रकाशकुमार विश्वकर्मा लगायतले बोल्दै बजारमा सुनको माग बढी भए पनि आपूर्ति न्यून हुँदा अभाव रहेको बताउनु भएको थियो । बजार मागअनुसार सुनको कोटा बढाउनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए भने बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले राज्यले सुनचाँदी व्यवसायीको हकहितमा आवश्यक नीति बनाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी नवलपरासी सुनचाँदी ब्यवसायी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले बैंकको चर्काे ब्याजको समस्या, पसल चोरीहुने, ज्यान मार्ने,लुट्ने जस्ता समस्याले नवलपरासीका सुनचाँदी ब्यवसायी त्रशित भएका कारण राज्य पक्षले सुनचाँदी ब्यवसायीहरुलाई शान्ति,सुरक्षाको ग्यारेन्टी गरेर ब्यवस्थीत रुपमा ढुक्क संग आफ्नो ब्यवासाय गर्ने वातावरण सृजना गर्न जरुरी रहेको बताउनु भएको थियो ।
कार्यक्रममा अध्यक्ष अर्जुन सुनार, महासचिव देवेन्द्र विश्वकर्मा र कोषाध्यक्ष सन्दीप सुनार लगायतले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।