sunwal

पानीका मुहानहरु सुरक्षित राख्न वन संरक्षण गर्न जरुरी छ ः पाठक

529

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९
जमिनको सतहमाथी र जमिन मुनिका पानीका मुहानहरु सुरक्षित राख्न वन तथा वातावरणलाई संरक्षण गर्न जरुरी रहेको लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बताउनु भएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य पाठकले उक्त कुरा बताउनु भएको हो ।
वन वातावरणको संरक्षण विना तराईक्षेत्रका कुनै पनि खानेपानी संस्थाहरुका पानीका मुहानहरु सुरक्षित नहुने भएकाले वन जंगललाई बचाउन तर्फ सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो । चुरेक्षेत्रको संरक्षण गरीएन भने खोलाहरुका पानीका मुहान र जमिन मुनि बोेरीङ्ग धसाएर निकालिएका पानीका मुहान सुक्ने भएकाले चुरेको संरक्षणमा सबैले बेलैमा ध्यान दिनु पर्ने लुम्बिनी प्रदेशका वन तथा वातावरण समितिका सभापती समेत रहनु भएका पाठकको धारणा रहेको थियो । उहाँले जमिन मुनीको भन्दा सतहको पानीलाई कसरी बढी उपयोग गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित जरुरी रहेकोमा जोडदिनु पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा अहिले १२ वटा खानेपानीका संस्थाहरुले नगरवासीहरुलाई शुद्ध र गुणस्तरीय खानेपानीको सेवा प्रदान गरीरहेको बताउनु भएको थियो । एक घर एक धाराको निति लिएको बर्दघाट नगरले सरसफाईको क्षेत्रमा समेत मासिक रुपमा सरसफाई अभियानलाई क्षेत्रगत रुपमा नियमित सञ्चालन गरीरहेको बताउनु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र सचिव शोभकान्त कोईराला (शिव)को सञ्चालनमा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरको पहिचानका लागि खानेपानी संस्था र नगरपालिका मिलेर विषेश खालको नमुना योग्य योजना सञ्चालन गर्नेगरी प्रस्ताव ल्याउन अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहाकार रविन्द्र विक्रम हमाल,पारिजात सामुदायिक वनका अध्यक्ष कमान सिंह थापा,वेलहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्ध्यक्ष वृहस्पति अधिकारी,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,संघिय खानेपानी तथा ढल ब्यवस्थापन विभाग योजना कार्यालय बुटवलका देवेन्द्र कुमार झा लगाएतले बोल्दै संस्थाको कार्यसम्पादन र ब्यवस्थापकीय पक्ष समायानुकुलित राम्रो रहेको बताएका थिए ।

संस्थाको परिसरमा नै आयोजना गरीएको २४औं वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन एवं वार्षिक बजेट,खानेपानी सुरक्षा योजनाको प्रतिवेदन र लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरीएको थियो । जस्मा श्रावण देखि कार्तिक सम्म ५५ लाख ५ हजार ३ सय ३५ रुपैया आम्दानी गरेर ४१ लाख १७ हजार ५७ रुपैया खर्च तथा १३ लाख ८८ हजार २ सय ७७ रुपैया बचत गरेको प्रतिवेदन प्रस्तुत गरीएको थियो ।

२०५५ सालमा स्थापना भएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले ४ हजार १ सय ५९ वटा निजि तथा संस्थागत धाराहरु वितरण गर्न सफल भएको छ । ४ सय ५० घन मिटरका २ वटा ओभरहेड टैंकी ,२ सय ५० घन मिटरको एउटा जंगल मुहान श्रोतको रिजर्ववायर टैंकी र एउटा सेडिमेन्टेशन टैंकी मार्फत शुद्ध खानेपानी वितरण गर्दै आएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था नेपाल मै नमुना खानेपानी संस्थाका रुपमा परिचित रहेको छ । अहिले २ बटा जमिन माथीको मुहान श्रोतबाट र ५ बटा जमिन मुनिको डिपवेलबाट करिव१० हजार ४ सय ५८ मानिसहरुलाई पानीको आपूर्ति गर्दैआएको छ ।