कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२४
सामुदायिक वनहरुको समस्या समाधानका लागि सरोकारवालाहरुको संयुक्त बैठक बसेरमात्र निस्कर्षमा पुग्न सकिने लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु)ले बताउनु भएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपरासीले शनिवार वनशक्ति सामुदायिक वन उपभोक्ता समुह,बर्दघाट–१० विर्तामा आयोजना गरेको नव नियुक्त मन्त्री कलवारको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कलवारले उक्त कुरा बताउनु भएको हो ।
संघ,प्रदेश र स्थानिय सरकारले सामुदायिक वनहरुलाई सबै तिरबाट कर मात्र लगाएर कामगर्न पारेको समस्याको समाधानका लागि छिट्टै नै आफु सहित मन्त्रालयका सचिव,वन कार्यालयका प्रमुखहरु र प्रतिनिधिमुलक रुपमा जिल्लाका सामुदायिक वनका जिम्मेवार ब्यक्तिहरु सहितको बैठक राखेर समस्याको समाधान गर्न आफु लागिपर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपरासी जिल्ला अध्यक्ष सारदा पोखरेलको अध्यक्षता र सदस्य चिरन्जिबी न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सुनवल नगर समितिका अध्यक्ष कर्ण बहादुर सेन,सरावलका अध्यक्ष अमेरिका हरिजन,सुस्ताका अध्यक्ष मेघनाथ आचार्य लगाएत जिल्लाका बिभिन्न सामुदायिक वनका पदाधिकारीहरुले सामुदायिक वनहरुको अवस्था र समस्याका वारेमा आ–आफ्ना भनाईहरु राखेका थिए ।
उनीहरुले स्थानीय ,प्रदेश र संघ सरकारले कर मात्र लगाउने गरेका कारण सामुदायिक वनहरु समस्यामा परेको गुनासो गरेका थिए । अहिले तिनै तहका सरकारहरुले छुट्टा–छुट्टै कर लिने निति गलत भएको भन्दै एकद्धार प्राणीमा रहेर उचित कर निधारणको ब्यवस्था मिलाउन मन्त्री कलवार समक्ष आग्रह गरेका थिए ।
अहिलेको वन ऐन झन्झटिलो भएका कारण कतिपय सामुदायिक वनहरु निस्कृय भएको भन्दै त्यखालका वनलाई सकृयहुने नीति बनाउन मन्त्री कलवार लाई सुझाव दिएका थिए । अहिले तिनै तहका सरकारले वनको संरक्षण र वातावरणलाई सन्तुलितगर्दै स्थानिय रोजगार सृजना गरेका सामुदायिक वनहरुलाई ह्रास गर्नेे काम गरेको आरोप समेत लगाएका थिए ।
पश्चिम नवलपरासी जिल्लामा अहिले ६५ वटा सामुदायिक वनहरु रहेका छन ।