kalika

राष्ट्रपति पौडेलद्धारा नेपालको सबैभन्दा लामो सुस्ताको झोलुङ्गे पुल उद्घाटन

सुस्तावासीलाई एक वर्षका लागि विद्युत महसुल छुट

582

कृष्ण ढकाल
सुस्ता,असोज–१०
पश्चिम नवलपरासी जिल्लाको सुस्तावासीलाई नेपालको भू–भाग र देशको सिमानाको रक्षागरी बसेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद दिनु भएको छ । शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित नेपालकै सबैभन्दा लामो त्रिवेणी–महेशपुर (सुस्ता )एक हजार ५७१ मीटर लामो झोलुङ्गे पुलको उद्घाटन पश्चात कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताउनु भएको हो ।

नारायणी नदीमा झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकोमा खुसी ब्यक्तगर्दै नेपाल समृद्ध भए मोटरेवल पुल नै बनाउन सकिने धारणा राख्नु भएको थियो ।

राष्ट्रपति पौडेलले यस झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शहरी विकास मन्त्रालयबाट निर्माण गरिएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरीविकास मन्त्री प्रकाशमान सिंहले बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको छ । विद्युत जडान भएका पारीसुस्ताका करिव ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ गरिएको छ ।
उर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत पु¥याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटो तिर लैजानु पनि भएको बताउनुभयो । सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिनेसमेत बताउनु भयो ।

सुस्ता पुल उद्घाटन पछि पुलमा हिड्दै राष्ट्रिपति पौडेल

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लालपुर्जाविहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “खेतीपाती गर्दै आएका किसान अहिले पनि जग्गाको लालपुर्जाविहीन हुनुपरेकोप्रति म सरकारको ध्यानाकर्षण गराउँदछु । उहाँहरुलाई छिटो लालपुर्जा वितरणको लागि आग्रह पनि गर्दछु ।”

मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने जनाउँदै प्रदेश सरकारबाट हुने हरेक काममा सुस्ता क्षेत्र प्राथमिकतामा परेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नारायणी नदीमा बनेको झोलुङ्गे पुलले सुस्तामा बसोबास गर्नेलाई सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,लुम्बिनी प्रदेशका भौतिक विकास मन्त्री भुमिस्वर ढकाल, प्रतिनिधि सभा सदस्य बिनोद चौधरी,प्रदेश सभा सदस्यद्धय सन्तुकल्वार,विश्वप्रेम पाठक,स्थानीय तहका जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।