sunwal

मंहगी र कालाबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

169

परासी, असोज –७
चाडपर्व नजिकिँदै जाँदा महंगी र कालाबजारी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले बजार नियन्त्रण गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडपर्वलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी बजार अनुगमन गर्न माग गरेको हो ।
एपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली र जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नियमित र प्रभावकारी बजार अनुगमन गर्न ध्यानाकर्षण गराएको हो ।
दशैँ,तिहार,छठ लगायतका चाडपर्वको मौका छोपेर बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, कालाबजारी,गुणस्तरहित वस्तुहरुको विक्रीवितरण भईरहेको आम नागरिकबाट गुनासो आईरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित विषयगत कार्यालयले उपभोक्ता ठगि गर्ने कार्य नियन्त्रण गर्न तदारुक्ता नदेखाएकोले प्रशासनको ध्यानाकर्षण गराईएको मञ्चका केन्द्रिीय सदस्य ज्ञवालीले बताउनुभयो ।
वार्षिक रुपमा कार्ययोजना बनाएर नियमित रुपमा बजार अनुगमन गर्नुपर्नेमा त्यसो नभएको र चाडपर्व शुरु भईसक्दा पनि बजार अनुगमनमा संघ, प्रदेश र स्थनीय तीनै तहका सरकारले उदासिनता देखाउँदा मञ्चले चासो व्यक्त गरेको ज्ञवालीले बताउनुभयो ।
मञ्चकी अध्यक्ष सरस्वती शर्माले चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीको सहज र सरल रुपमा पहुँच हुने व्यवस्था गर्न,देखावटी बजार अनुगमन भन्दा नेपाल सरकारले तोकेको र कारवाही गर्ने अधिकार प्राप्त निरीक्षण अधिकृतको नेतृत्वमा नियमित र प्रभावकारी बजार अनुगमन गर्न,चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा,,फलफूल,तरकारी एवं अतिआवश्यक वस्तुहरु, यातायात,होटल,मिठाई पसलमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त वातावरण बनाई उपभोक्ताले महशुस गर्ने गरि परिणाममुखी बजार व्यवस्थापनको कार्यलाई तत्काल अघि बढाउन माग गरिएको जानकारी दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्चले चाडपर्व लक्षित मात्र नभई अन्य समयमा पनि नियमित र प्रभावकारी बजार अनुगमनलाई तीव्रता दिन समेत ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बजार अनुगमनलाई तीव्रता दिन घरेलु तथा साना उद्योग कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । बजार अनुगमन भईरहेको दाबी गर्दै प्रजिअ श्रेष्ठले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिईने बताउनुभयो ।