कृष्ण ढकाल
बर्दघाट,असोज–५
राष्ट्रिय बाल दिवस , शिक्षा दिवस तथा संविधान दिवसको अवसर पारेर बर्दघाट नगरको शिक्षा ,युवा तथा खेलकुद शाखाले आयोजना गरेको बिषेश समारोहमा बर्दघाट नगरपालिका स्तरीय शिक्षकहरुको कवीता लेखन तथा वाचन प्रतियोगीता राजा महात्मा पुर्णभद्र मा.बि.का शिक्षकहरुले आश्चर्यजनक रुपमा एकछत्र राज गरेका छन ।
बर्दघाट नगर भित्रका विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागी रहेको प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो स्थान राजा महात्मा पुर्णभद्र मा.बि.का तिनजना शिक्षकहरुले कब्जा गरेर चकित पारेका छन ।
२१ जना शिक्षकहरुको रचना लेखन र उनीहरुको वाचनशैलिलाई पछि पार्दै गीता मरासीनी प्रथम ( १०५) , एक नारायण तिमिल्सीना ( १००.५) द्धितिय र डा. हरि प्रसाद घिमिरे ( ९९) ले तृतीय स्थान हासील गर्न सफल भएका हुन । १५० पूर्णाक रहेको उक्त कविता लेखन तथा वाचन प्रतियोगिताको निर्णायमा डा.धनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल निर्णायकमा रहनु भएको थियो ।
बर्दघाट नगर र जिल्लामा हुने बिभिन्न खालका प्रतियोगितामा बिद्यार्थीहरुलाई समेत सफलता दिलाउदै आएको राजा महात्मा पुर्णभद्र मा.बि.ले यसपटक नगरका सबै शिक्षकहरुलाई पछिपार्दै प्रतियोगिताको सबै पुरस्कारहरु भित्राउन सफल भएपछि अहिले राजा महात्मा पुर्णभद्र मा.बि.को प्रसंशा गर्न थालेका छन ।
यस्ता थिए बर्दघाट नगरपालिका स्तरीय शिक्षकहरुको कवीता लेखन तथा वाचन प्रतियोगीतामा प्रस्तुत भएका रचनाहरु …
प्रथम गीता मरासिनी
शिर्षक ः गुरुलाई चिठी ( कविता )
तोडेर एक्वारियमका बन्धनहरू
म महासागरमा निर्वाध पौडिन चाहन्छु
तोडेर पिञ्जडाको जञ्जिर
म स्वच्छन्द आकाशमा कावा खाना चाहन्छु
प्रणाम गुरुदेव !
म लक्ष्यभेदन गर्ने अर्जुन हुँ
एकलब्य ठानेर
अंगुष्ठ नखोसियोस् मेरो
गुरुदेव ! मलाई सफलताको आशीर्वाद दिनुहोस्
कर्णकोजस्तो सङ्कटमा काम नलाग्ने
श्रापको शिक्षा नदिनुहोस् मलाई
प्रणाम गुुरुदेव !
म मातृभूमिको सपना देख्छु
मातृभाषा बोल्दा दण्डित नगरियोस् मलाई
हाटबजारमा बेच्न राखेको पशु होइन म
बिन्ती छ ! मेरो घाँटीमा कठालो नबाधिदिनुहोस्
मलाई झाडी बेचेर खाडी पस्नु छैन
खोरिया बेचेर कोरियातिर फस्नु पनि छैन
मलाई मैरै गरा र पखेराहरू हराभरा गराउने शिक्षा दिनुहोस्
प्रणाम गुरुदेव !
मेरो देश बुद्धको गौरवले सजिएको छ
वीरताको पौरखले रंगिएको छ
त्यसैले त म
म कहिले कलमवीर बनेर शान्तिका गीत कोर्छु
कहिले श्रमवीर बनेर बारीका डल्ला फोर्छु
देशले मागे रगतको बलि दिने युद्धवीर पनि बन्न सक्छु
गुरुदेव ! बन्द गरिनदिनुहोसे मेरो संस्कृति नचिन्ने गानाहरू
च्यातिदिनुहोस्
सिकन्दरलाई महान् ठान्ने
पृथ्वीनारायणलाई साम्राज्यवादी देख्ने
पुस्तकका पानाहरू
प्रणाम गुरुदेव !
गुरुदेव ! मलाई मेरै परिवेश पढाउनुहोस्
मलाई पाब्लो पिकासोभन्दा अरनिको मन पर्छन्
पेरिसको कलाभन्दा चाङ्गुनारायणको कला सुन्दर लाग्छ
जान्दिन म सुपेरियर र बैकाल तालको गहिराई
म त मेरै फोक्सोन्डो र राराको गहिराइमा हराउँछु
मुना र मदनको प्रेममा भावुक भएर होला
छुँदैन मलाई रोमियो र जुलियटको प्रेमले
प्रमाण गुरुदेव !
गुरुदेव ! कति पढाउनुहुन्छ मेक्याभेली
अलिअलि चाणक्य पनि पढाउनुहोस् न
क्लियोपेट्राका सुन्दरताका कथाभन्दा
मन छुन्छ सीताका आदर्श र योगमायाका संघर्षका गाथाले
कति हराउने अमेजनको भर्चुअल दुनियाँ हेरेर
बरु , आफ्नै चारकोसे झाडीसँग साक्षात्कार गरे हुँदैन र रु
सुन्ने र हेर्ने संसारभन्दा भोगाइको यथार्थ प्रिय लाग्छ मलाई
प्रणाम गुरुदेव !
पुस्तकको भारीभन्दा
ज्ञानको जिम्मेवारी बोक्ने शिक्षा चाहिन्छ
स्कुल ज्ञानको पाठशाला बन्नुपर्छ
विज्ञानको प्रयोगशाला बन्नु पर्छ
स्कुल कलाकारको रङ्गमञ्च बन्नुपर्छ
खेलाडीको रङ्गशाला बन्नुपर्छ
गुरु ज्ञानको विशाल आकाश बन्नुपर्छ
उज्यालो छर्ने प्रकाश बन्नुपर्छ
प्रणाम गुरुदेव !
गुरुदेव ! म देश चिन्न सकूँ
मेरो परिवेश चिन्न सकूँ
बुद्ध र सगरमाथामा गौरव गर्न सकूँ
म पढाइमा रमाउन सकूँ
ज्ञानको गहिराइ समाउन सकूँ
म मातापिता र गुरुको सपना हुँ
म एक असल शिष्य हुँ
समाज र राष्ट्रको भविष्य हुँ
म सिर्जना र विकासको पूर्वाधार हुँ
म भविष्यको कर्णधार हुँ
प्रणाम गुरुदेव !
गीता मरासिनी
राजा महात्मा पूर्णभद्र मा.बि बर्दघाट,९ नवलपरासी
द्धितिय ःएकनारायण तिमिलसिना
शिर्षक ः डोकाभित्रको चल्ला
डोकाभित्रको चल्ला
चिउ चिउ कराएको जस्तो
जिन्दगी
गोरेटो सकिएपछि
जङ्गलको बिचमा बाटो
हराएको जस्तो जिन्दगी
कुहिरोभित्रको कागझैं अल्मलिएको छ
पश्चिमाहरूको मतिमा चलेको मेरो शिक्षा
घर अगाडिको ओखती नचिनेर
कस्तुरी अरण्य घुमेको छ
एक घान आशा
एक अङ्गालो सपना
खोजेर खुसीको डङ्गुर
चहारेको छ भुलेर आफैलाई
सुन्दर भविष्यको कल्पनामा
एक चिम्टी हासो भरिएका
उज्याला अनुहार
निस्कपट मनहरू
निसङ्कोच अभिव्यक्ति
व्यक्त गर्ने
ईश्वरका अवतार
सिर्जनाका उभार
ती कलिला बालबालिका
काचो माटो समान छन
अहोरात्र उनैको सेवामा
समर्पित रहोस् मेरो जीवन
म उनैबाट सिक्न र
उनैलाई सिकाउन चाहन्छु
शिक्षा निरन्तर चलिरहन्छ
सिकाइ पलपल भैरहन्छ
हासका टिउरालाई पौडिन
कसले पो सिकायो र
अनि माकुरोले जाल बुन्न
सिकेको छ तर,
सिकाइ होइन
सिद्धान्तले भन्छ
तर,
मेरो छोराको
गोलोगोलो अन्डा सिकाइ हो
सिद्धान्तले मान्छ
मलाई एक पसारो
सिद्धान्तभन्दा अलि पर गएर
गणितसग नमिल्ने
हिसाब सिकाउन मन छ
बन्दुकको गोलीले एउटा चरा मर्दा
सयमा उनान्सय नभएर
बुटो रित्तै हुन्छ
पाषाणयुगीन सभ्यता
नवाश्मयुगीन सभ्यतामाआइपुग्दा
२१औं शताब्दीको सभ्य समाजले
विर्सिएको
तर पनि
मेरा बाबाको पुरानो बाकस
मेरी आमाको मुगाको हार
जसले मलाई सम्झाइरहन्छ
प्रतिदिन त्यही समाज
म त्यही पुरातन समाज सम्झन्छु
घाम हेरेर समय चिन्ने
मेरा हजुरबुबा
कसले सिकायो कुन्नी
उहाँलाई यस्ता कुरा
घोडटाप्रे थिचेर
मेथी पिसेर
औषधि बनाउने
मेरी हजुर आमा
क नपढी कसरी जान्नुभयो
कुन्नि यस्ता कुरा
हो, मलाई त्य्ही सिकाइ सिक्न
र सिकाउन मन छ
ढिकी,जातो अनि पानीघट्ट
हलो,जुवा,कुटो,कोदालो
कसले बनायो कुन्नि
मेरो सामान्य ज्ञानमा सोधिन्नन
यस्ता कुरा
पानीघट्टबाटै सिके हुन
विद्युत् का टर्वाइन घुमाउने कुरा
मलाई मेरै पूर्वजको
ज्ञानको भण्डारबाट
विज्ञान सिक्न मन छ
पूर्व सगर बेलुकीपख
डढेको देखेर
पानी नपर्ने विज्ञान
कसले सिकायो कुन्नि
मेरी हजुर आमालाई
म के भनू रुढीवाद कि विज्ञान
हो१ मलाई त्यही विषयमा
अनुसन्धान गर्न मन छ
विकसित देशमा
अङ्कको ज्ञान नहुदै
हाम्रो पूर्वीय सभ्यताले
एकाई,दहाई हुँदै समुद्र ,परार्ध
सम्मको गिन्ती सिकायो
शुन्यलाई छोट्याएर
गणित,विज्ञानमा टेन टु द पावर लेख्ने
पश्चिमाहरूलाई चुनौतीपूर्ण
त्यही समुद्र,परार्ध
फेरि लेख्न मन छ
मलाई त्यही समुद्र परार्ध सिक्न
र सिकाउन मन छ
विश्वव्यापीकरणले विश्व
आगन बनेको बेला
अफसोच ! मेरो देशको विवशता
छिचिमिराहरू त
पखेटा लागेसी उड्छन बरु
मान्छेका बालबच्चा
निशिदिन तुहिनमा झुन्डिन्छन
जिन्दगी मृत्युलाई राजीनामा लेखेर
तर
शिखर चुम्न्ने अभिलाषा बोकेर
कहाली लाग्दो पीडा सपनासग साटेर
केवल एउटा पुलको आशा राख्दा हुन
पारी पुगेर सहजै पढनका लागि
सन्ते,सुन्तली ,मालती ,मङ्गले
ईश्वरसग प्रार्थना गर्दा हुन
दैलोबाट गाडी चढ्ने दिन
कल्पना गर्दा हुन
ध्यान पुगोस् सरोकारवालाहरूको
साकार होस् सपना उनीहरूको
मृत्युबिच मुस्कान छर्ने उनीहरूबाट
मलाई जिजीविषा सिक्न मन छ
ऐचोपैचो,झारापर्म
आजकल भेटिदैन
चिसो त छ पानी
तर तिर्खा मेटिदैन
कृत्रिमता छ यहाँ
फेरियो समाजको संरचना
तर मलाई बटुक र सेल
बाडेर खान मन छ
चिच्चर र खिचडी
बाडेर खान मन छ
माघी र माघे सङ्क्राती
सगै मनाउन मन छ
जितियामा झाम्टा नाच्न मन छ
अनि छठमा जाग्राम बस्न
मलाई विविधताभित्र
एकता जोड्ने सस्कृति
सिक्न र सिकाउन मन छ
श्रमलाई शिक्षाबाट अलग्याएर
असार १५मा खेतका गरामा
विद्यालयका बालबालिका
एकदिन हिलो खेल्दैमा
किसानको मर्म बुझ्दैनन तिनीहरू
त्यसैले वस्तविकता बुझाउन
पसिनाको मूल्य सुझाउन
श्रमको सम्मान गर्ने सस्कृति
विकास गर्न
पढ्दै कमाउदै अनि कमाउदै पढ्दै गर्ने
उत्पादनसग जोडिने
सिकाइ सिक्न र सिकाउन मन छ
मेरा छोराछोरी घरै बसीबसी
विश्व चिहाउछन
क्षणभरमै कृत्रिम सूचनामा
चाहेका कुरा पत्ता लगाउछन
विचित्र छ खोजे भेटिन्छ
हो,म रेडियोभित्र मान्छे हुन्छन्
भनेर अल्मलिने उमेरमा
आजकलका बच्चाहरू
सन्जय उवाच
म धृतराष्ट्र
त्यसैले मलाई
सन्जय उवाच बन्न
२१औं शताब्दीको प्रविधिमैत्री सिकाइ
सिक्न र सिकाउन मन छ
गुरुकुल ,गुम्बा वा मदरसा होस्
जहाँ ,
आमाको जस्तो ममता होस्
बाबुको जस्तो सुरक्षा रहोस्
प्रत्येक कक्षाकोठामा
बालमैत्री वातावरण होस्
बालबालिकाको ओठमा मुस्कान होस्
सन्बन्ध जीवन्त बनोस्
परबाट उसलाई देख्दा मलाई
कक्षामा आउन मन लागोस
मलाई देखेर ऊ टाढा नभागोस
मलाई यस्तै वातावरणमा
कक्षाकोठामा जीवन्त सिकाइ सिक्न
र सिकाउन मन
एकनारायण तिमिलसिना
राजा महात्मा पूर्णभद्र मा.बि बर्दघाट,९ नवलपरासी
तृतिय ः डा.हरिप्रसाद घिमिरे
शीर्षक ः शिक्षा समाज बनोस
शिक्षा समाज बनोस
शिक्षा समाज बनोस,जीवनको नेत्र बनोस
ज्ञान सीप बढाएर समाजको संस्कार बनोस
सिकाई उद्देश्य बनोस,नागरिक दायित्व पुरा गरोस्
जीवनको कर्तव्य निर्वाह गर्ने चेतना परिवर्तन गरोस्
म त्यो सीप सिक्न र सिकाउन चाहन्छु
जहाँ समाज र सामाजिक संस्कृति बाचोस
शील,स्वभाव र मर्यादा जिम्मेवारी बहन गरोस्
कर्तव्य पथमा रहेर आदर्श स्थापना गरोस्
श्रमजीवीहरु श्रम विमुख भएर होइन
कुन्ठा र वितृष्णा हटाएर विकास निर्माण गरोस्
सिर्जना फुलोस,फलोस अनि सर्वत्र फैलियोस
मेरो सिकाइ पुस्तका पाना रटेर प्राप्त हुने
विस्मरणले सजिएको शाब्दिक पाण्डित्यका लागि मात्र होइन
प्राचीन सभ्यता संस्कृति संरक्षण गर्दै
युगान्तकारी जीवन परिवर्तन गर्न सक्ने बनोस्
आँखा चिम्लेर मुर्तिका अगाडि बसी
भक्तिको सागरमा पौडीदै
केवल ध्यानमा मग्न भएर प्रार्थना गर्दै
बोक्रे भलाद्मी बनाउने शिक्षा नबनोस
समालोचनात्मक चिन्तनको आँखा उघारेर
मौन मूर्तिमा कलात्मकता भर्दै
सुन्दर सृजनात्मक क्षमता वृद्धि गराउने शिक्षा मिलोस
घरको भित्तामा योग्यताको प्रमाणपत्र थन्याएर
अश्रुधारा बगाउदै फुलमाला र अविरले सजिएर
बृद्ध बुबा आमालाई घरको पिढीमा एक्लै छाड्दै
आफ्नो माटोको माया मारी विदेशिने शिक्षा होइन
ममता फुलाउने,फलाउने शिक्षा मिलोस
सामाजिक,सास्कृतिक मूल्यलाई बुझ्दै
कर्तव्य ,दायित्व,सद्भाव,सद्गुण सिक्दै
जीविकोपार्जन गर्न सक्ने राष्ट्रियता संरक्षण गर्ने
मौलिकता सहितको युग सुहाउँदो
पर्चीन ज्ञान र आधुनिक विज्ञान सहितको
सूचना र प्रविधि मिश्रित ज्ञानको
छुट्टै एउटा नयाँ सगरमाथा खडा बनोस्
शक्तिका पछाडी दगुर्दै भक्तिमै तल्लिन बनेर
भीत्रीमन तड्पाइ तड्पाइ बाहिर मुस्कान छाडेर
दिन रात परिवारमा किचलो भर्ने कक्षा कोठामा वेन्चमा निदाएर गुरु वन्दना गर्ने
नक्कली शिक्षा मलाई चाहिदैन
म त चाहन्छु
राज्यको आर्थिक विकास गराउने
भोको पेटलाई भराउने
समाज ,राष्ट्र,राष्ट्रियता र परिवारलाई सजाउने
दक्ष जनशक्ति खडा बनोस्
शिक्षाले समृद्धिको ढोका उघारोस
पुस्तकका पाना मात्र रट्न होइन
सिकाइको सानो बिज रोपेर
सीपको ठूलो वृक्ष खडा गरोस
परनिर्भरतामा मात्र होइन
आत्मनिर्भरतामा बाच्न सिकाओस
विश्वको बाहिरी आवरण देखाउने आँखा होइन
आकुलव्याकुल मानव हृदयका पिडा बुझ्ने
ज्ञान चक्षु खुलाओस
मानव मस्तिष्कमा रहेका दम्भ तोड्दै
विनयशीलता सिकाओस
ज्ञान विज्ञानको सङ्गम गराई
कर्मशील बनाओस
शिक्षा समाज बनोस,जीवनको नेत्र बनोस्
ज्ञान,सीप बडाएर समाजको सस्कार बनोस् ।।
डा.हरिप्रसाद घिमिरे
राजा महात्मा पूर्णभद्र मा.बि बर्दघाट,९ नवलपरासी