Sarawal sit lahar Notis

नगर स्तरीय खानेपानी ल्याब स्थापना

293

कृष्ण ढकाल
बर्दघाट,असार–२९
बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहकार्यमा बर्दघाटमा नगर स्तरीय खानेपानी ल्याब स्थापना भएको छ । बर्दघाट नगरका सबै खानेपानी संस्थाहरुले वितरण गर्ने र उपभोक्ताहरुले प्रयोग गर्ने खानेपानीको शुद्धता र गुणस्तरीयताको निःशुल्क परिक्षण गर्नका लागि सरकारका तर्फवाट नै बजेट विनियोजन गरेर उक्त ल्याबको स्थापना गरीएको हो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा सञ्चालनमा रहेको ल्याबलाई थप परिस्कृतगरी नगर स्तरीय ल्यापका रुपमा विकास गरीएको उक्त ल्याबको शनिवार एक कार्यक्रमका विच बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्नु भएको छ ।
ल्याब समुदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै खानेपानी आयोजनालाई नियमित रुपमा ल्याबमा ल्याएर पानी परिक्षण गरी पानीको शुद्धता र गुणस्तर मापदण्ड अनुसार कायम राख्नेगरी काम गर्न आग्रह गर्नु भएको थियो । नगरप्रमुख श्रेष्ठले ल्याब सञ्चालनका लागि बर्दघाट नगरले जनशक्ति देखि ल्यापमा प्रयोग हुने केमिकल र औषधीको ब्यवस्था गर्ने बताउनु भएको थियो ।

त्यसैगरी सोही अवसरमा बोल्दै बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले नगरको ३ लाख ९६ हजार र थप ३० प्रतिशत संस्थाले खर्च ब्योरेर ल्यापको स्थापना गरीएको जानकारी गराउनु भएको थियो । अध्यक्ष लम्सालले नगरभित्रका सबैलाई निःशुल्क परिक्षण गरेपनि नगर वाहिरका समेत पानी परिक्षणमा आउने भएकाले उनीहरुवाट केहि शुल्क लिनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय ,वडा नम्बर ४ का वडा अध्यक्ष वेधविना तिवारी,बर्दघाट नगरका सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,जिल्ला खानेपानी महासंघका अध्यक्ष देवीदत्त सापकोटा,बर्दघाट खानेपानीका सल्लाहकार रबिन्द्र विक्रम हमाल, पञ्चनगर खानेपानीका अध्यक्ष कर्ण बहादुर खत्री, बर्दघाट खानेपानीका उपाध्यक्ष कमल थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बर्दघाट नगरमा अहिले ११ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरु रहेका छन भने सञ्चालनमा १० वटा मात्र आएका छन । अहिले बर्दघाट नगर स्तरीय ल्याप स्थापना गरी सञ्चालन गर्ने जिम्मा लिन थालेको बर्दघाट खानेपानी संस्था नेपालका १० राम्रा खानेपानी संस्था मध्येको एक हो । जस्का कारणले गर्दा नेपालका हरेक स्थानवाट बिभिन्न समयमा बर्दघाट खानेपानी संस्थाको अध्ययन अवलोकन भ्रमणका लागि मुकामका रुपमा छनौट भैरहने गरेको छ ।