Sarawal sit lahar Notis

बर्दघाट नगरका सबै खानेपानी संस्थाले वितरण गर्ने पानीको निःशुल्क परिक्षण हुने ।

364

कृष्ण ढकाल
बर्दघाट,असार–२५
बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहकार्यमा बर्दघाटमा नगर स्तरीय खानेपानी ल्याब स्थापना भएको छ । बर्दघाट नगरका सबै खानेपानी संस्थाहरुले वितरण गर्ने र उपभोक्ताहरुले प्रयोग गर्ने खानेपानीको शुद्धता र गुणस्तरीयताको निःशुल्क परिक्षण गर्नका लागि सरकारका तर्फवाट नै बजेट विनियोजन गरेर उक्त ल्याबको स्थापना गरीएको हो ।

यहि असार २९ गते नगर स्तरीय खानेपानी परिक्षण ल्याबको औपचारीक समुद्घाटन गर्ने तयारीमा रहेको बर्दघाट खानेपानी संस्थाले सोमवार बर्दघाट नगरपालिकासंग ल्याप सञ्चालन र सहयोगगर्ने प्रतिवद्धता सहतिको सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा सञ्चालनमा रहेको खानेपानी ल्याबलाई थप परिस्कृतगरी नगर स्तरीय ल्यापका रुपमा विकास गरीएको उक्त ल्याब सञ्चालनका लागि बर्दघाट नगर ले जनशक्ति देखि ल्याबमा प्रयोग हुने केमिकल र औषधीको ब्यवस्था गर्ने गरी सम्झौता गरीएको नगरप्रमुख शम्भुलला श्रेष्ठले बताउनु भएको छ । नगरको एक घर एकधारा अभियानसंग संगै शुद्धता र गुणस्तरीय खानेपानी सबै नगरवासीहरुलाई सलभ गराउने उद्धेश्य अनुसार खानेपानीको ल्याब स्थापना गर्न सहयोग गरेको नगरप्रमुख श्रेष्ठको भनाई रहेको थियो ।
त्यसैगरी सोही अवसरमा बोल्दै बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले नगरको ३ लाख ९६ हजार र थप ३० प्रतिशत संस्थाले खर्च ब्योरेर ल्याबको स्थापना गरीएको जानकारी गराउनु भएको थियो । अध्यक्ष लम्सालले नगरभित्रका सबैलाई निःशुल्क परिक्षण गरेपनि नगर वाहिरका समेत पानी परिक्षणमा आउने भएकाले उनीहरुवाट केहि शुल्क लिनु पर्ने धारणा राख्नु भएको थियो ।

सोमवार नगर प्रमुखको कार्यकक्षमा बर्दघाट नगरपालिका र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका विच भएको सम्झौता कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,सामाजिक विकास समितिका अध्यक्ष भिमकाजि गुरुङ,वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारी ,नगरका वास फोकल पर्सन कृष्णहरि पौडेल,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष दिपक लम्साल,उपाध्यक्ष कमल थापा,सचिव शोभाकान्त कोइराला,कोषाध्यक्ष राधा अधिकारी ,ब्यवस्थापक विष्णुकुमार भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरमा अहिले ११ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरु रहेका छन भने सञ्चालनमा १० वटा मात्र आएका छन । अहिले बर्दघाट नगर स्तरीय ल्याप स्थापना गरी सञ्चालन गर्ने जिम्मा लिन थालेको बर्दघाट खानेपानी संस्था नेपालका १० राम्रा खानेपानी संस्था मध्येको एक हो । जस्का कारणले गर्दा नेपालका हरेक स्थानवाट बिभिन्न समयमा बर्दघाट खानेपानी संस्थाको अध्ययन अवलोकन भ्रमणका लागि मुकामका रुपमा छनौट भैरहने गरेको छ ।