Sarawal sit lahar Notis

नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १ हजार ४ सयले लिए कानुनी सहजीकरण 

226

परासी,असार ७

पश्चिम नवलपरासीमा ५ बर्षमा वैदेशिक रोजगारीमा गएका १ हजार ३ सय ७६ जनाले कानुनी सहजीकरण सेवा लिएका छन । वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यमा परेर कानुनी सहजीकरण लिने सख्या पछिल्लो समय बढेको देखिन्छ ।

आर्थिक बर्ष ०७६/७७ मा २ सय १७ जना, ०७७/७८ मा १ सय ८७ जना, ०७७/७९ मा ३ सय १८ जना, ०७९/८० मा ३ सय ६४ जना र २०८०/८१ को जेष्ठ सम्म २ सय ९० जनाले कानुनी सहजीकरण लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम सयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनु भयो । पाँच बर्षको तथ्यांक हेर्दा सबै भन्दा धेरै गत आर्थिक  देखिन्छ भने सबैभन्दा कम आर्थिक बर्ष ०७७/७८ मा  देखिन्छ ।

गत ५ बर्षको तथ्यांक हेर्दा वैदेशिक रोजगारका क्रममा ठगीका सबै भन्दा धेरै समस्याहरु देखा परेका छन । बिगत ५ बर्षमा ८ सय ७९ जना ठगीमा परेको समस्या लिएर कानुनी सहजीकरणका लागी आएका छन। त्यस्तै मृत्यु भएका ९१ जना, जेल भएका २४ जना, स्वास्थ्य सम्बन्धि समस्या भएका ६१ जना, हराएका १७ जना, अलपत्र तथा उद्घार ५२ जना, गन्तव्य मुलुकमा काम, कम्पनी र सुबिधा फरक परेका २ सय ५२ जनाले कानुनी सहजीकरण लिन आएको सामी परियोजनाले जनाएको छ ।

आर्थिक बर्ष ०७६/०७७ देखी हाल सम्म एक हजार ३ सय ७६ जनाका समस्याहरु मध्ये ७ सय ११ जनाको समस्या समाधान भएको छ । त्यस्तै ३ सय ५६ जनाको प्रक्रीया रहेको छ भने ३ सय ९ जनाको समस्या समाधान हुन नसक्ने खालका रहेको भण्डारीले उल्लेख्य गर्नु भयो ।

वैदेशिक रोजगारीलाई सहज र सरल बनाउन रामग्राम नगरपालिका लागी परेको उपप्रमुख सम्झना चौधरीले बताउनु भयो । ” अहिले हामी वैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन लागि परेका छौं । वैदेशिक रोजगारीको सुचना दिने, न्यायमा पहुँच बढाउने, सीप बिकास गराउने लगायतका काम सामीमार्फत गर्ने गरेका छौं ।” चौधरीले भन्नु भयो ।