कृष्ण ढकाल
बर्दघाट,भदौं–१८
नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्रका साप्ताहिक हाट बजारहरुमा अबैध रुपमा भित्रने भारतिय तरकारीलाई चेकजाँच गर्ने कार्यलाई कडाई गरेको छ । भारतबाट अबैध रुपमा भित्रिने तरकारी लगाएतका वस्तुहरुको नियन्त्रण गर्न नगरपालिकाले नगर प्रहरी खटाएर निगरानी बढाएको हो ।
साप्ताहिक हाट बजारमा भारतीय बजारबाट अबैधानिक रुपमा मोटर साईकलमा ल्याएका तरकारीहरुले नगरका किसान र नेपाली किसानहरुलाई विस्तापित गर्ने गरेको र बिषादी भए नभएको चेकजाँच नगरी भारतीय तरकारी बजारमा बिक्रि वितरण गरी मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । नगर प्रहरी सहित नगरकोे टोलीले बजार अनुगमनका क्रममा भेटीएका त्यस्ता ब्यापारीहरुको तरकारीहरु सबै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएर भन्सार पठाउने कार्य गरेको छ ।
भारतीय बजारबाट तरकारी ल्याउनी ब्यापारी,नगरका तरकारी ब्यपारी र नगरको सिङ्गो टोली विच नगरमा भएको छलफलका क्रममा भारतबाट अबैध रुपमा भित्रिने तरकारीका कारण बैधानिक रुपले भन्सार गरी ल्याई कारोबार गर्ने ब्यापारीहरुले आफुहरु मर्कामा परेको गुनासो गरेका थिए ।
छलफलका क्रममा नगर प्रमुख सम्भुलाल श्रेष्ठले नगरपालिकाले पहिलो प्राथमिकता नगरका किसानको उत्पादन, दोश्रो स्वदेशी र तेश्रोमा बैधानिक तरिकाबाट आउने तरकारीलाई प्राथमिकता दिनेगरी अनुगमन र चेकजाँचलाई कडाई गरेको बताउनुभयो । उहाँले भारतबाट अबैध रुपमा ल्याईएका तरकारी विषादी परिक्षण नगरी अबैध रुपमा ल्याईएको तरकारीहरु विक्रि हुँदा एकातर्फ मानव स्वास्थ्यमा गम्भिर असर गर्ने र अर्कोतर्फ नगरभित्रका किसानका उत्पादनले बजार नपाउने समस्या भएका कारण कडाई गरेको बताउनु भएको थियो ।
त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अबैध रुपमा कारोबार गर्न कोही कसैलाई छुट नभएको भन्दै नगर भित्रका ठुला ब्यापारीलाई नगरका किसानले उत्पादन गरेका बस्तुलाई पहिलो प्राथमिकता दिएर खरिद गरिदिन आग्रह गर्नु भएको थियो । त्यसैगरी नगरको आन्तरिक उत्पादनले नपुगे भारतिय तरकारी ल्याउनै परे बैधानिक तरीकाले ल्याएर विक्रि गर्न आग्रह गर्नु भएको थियो ।
नगरले आईतबार भुताहा हाट बजारमा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेका बोडि गोलभेडा, परवल, घिरौँला, लौका, खुर्सानी लगायतका तरकारी बरामद गरी प्रहरी मार्फत भन्सार कार्यालय भैरहव पठाएको छ । भने सोमवार पनि अनुगमन गरी भारतीय बजारवाट अबैधानिकरुपमा ल्याएका तरकारीहरु नियन्त्रणमा लिएको थियो ।