श्रावण–२५
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बिच झडप हुँदा ७ जना प्रहरी घाईते भएका छन् । घाईते हुने हरुमा प्रहरी निरिक्षक श्याम प्रकाश यादव, प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादव, प्रहरी वरिष्ठ हवल्दार नारायण रानाभाट, प्रहरी सहायक हवल्दारहरु प्रकाश सुनार, विशाल यादव र मान वहादुर यादव संगै प्रहरी जवान प्रेम भट्टराई घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार परिस्थिितिलाई नियन्त्रणमा लिनका लागि ५ राउण्ड अश्रु ग्याँस फायर गरिएको छ ।
त्रिभुवन मावि बेलाटारी र त्रिभुवन क्याम्पस बेलाटारी विचको आपसी विबाद चुलिँदै जाँदा झडपको स्थितिमा परिणत भएको हो । मा।वि को ११ र १२ कक्षा दिवासत्रमा संचालनका लागि विद्यालयलाई कक्षाकोठा अभाव भएको भन्दै क्याम्पस समक्ष कोठाको माग गरिएको थियो । क्याम्पसले कक्षा कोठा उपलब्ध गराउन नसक्ने अडान लिएपछि बुधबार क्याम्पसमा लगाईएको ताला गाउँपालिकाले फोडिदिएपछि विबाद उत्कर्षमा पुगेको हो ।
ताला फोडिएको विषयलाई लिएर त्रिभुवन क्याम्पसका विद्यार्थीहरु विहिबार गाउँपालिकामा ताला लगाउन गएपछि प्रहरीसंग झडप भएको बताईएको छ । प्रहरीले ७ जना घाईते भएको बताए पनि क्याम्पसका स्ववियु सभापती कामोद पासीले विद्यार्थीतर्फ २० जना घाईते भएको बताउनुभयो ।
देख्दा विद्यालय र क्याम्पसको विषय देखिए पनि पछिल्लो समय यसलाई जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठी र गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सार्बजनिक फोरममा भाषण गर्दै प्रतिष्ठाको विषय बनाएका थिए ।
क्याम्पस प्रशासनलाई त्रिपाठी र विद्यालयलाई यादवले संरक्षण दिँदै एक अर्का विरुद्ध सार्बजनिक अभिब्यक्ति दिँदै आईरहेका छन् ।
केहिदिन अघि क्याम्पसकै सभाहलमा जनता प्रगतिशिल पार्टी नवलपरासी प्रतिनिधिसभा १ को बैठक राखी त्रिपाठीले गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले क्याम्पसले प्राप्त गर्न लागेको क्युएए खोस्नका लागि अनेक रणनिति बनाएको आरोप लगाएका थिए । त्यसको केहिदिनमै विद्यालयले अभिभावकहरुको विशेष भेला गरी अभिब्यक्ति प्रति आपत्ति जनाएको थियो । विद्यालयले क्याम्पसकै सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले कक्षा ११ र १२ संचालन गर्नका लागि जस्तोसुकै कठोर निर्णय गर्न तयार रहेको बताउनुभएको थियो ।
आज भएको घटनाको बिषयलाई लिइएर गाउपालिका र क्याम्पस प्रसाशन दुबैले छुट्टा–छुट्टै विज्ञप्ती जारी गरेका छन ।