sunwal

बर्दघाट नगरपालिकामा कार्यविधिको धज्जी उडाउँदै शिक्षक सरुवा

151

प्रकाश न्यौपाने / नारायण भण्डारी
बर्दघाट,श्रावण २
नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिको धज्जी उडाएको छ ।

शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले २०८० जेठ १९ गते बर्दघाट नगरपालिकाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन सम्बन्धी कार्यविधि २०८० स्थानिय राजपत्रमा प्रकासित गरेको छ ।

कार्यविधिको परिच्छेद ४ को दरबन्दी मिलान कार्यदलको ब्यबस्था ६ (१) अनुसार नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्य गर्न नगर शिक्षा समितिले ३ सदस्यीय कार्यदल गठन गर्ने उल्लेख छ । कार्यदलमा सामाजीक विकास समितिका संयोजकको संयोजकत्वमा नगर शिक्षा समितिका सदस्यहरु मध्येबाट नगर प्रमुखले तोकेको एकजना र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने ब्यबस्था छ ।

नगरपालिकाले २१ जना शिक्षक सरुवा गर्दा दरबन्दी मिलान कार्यदलको बैठक नै नबसी गरिएको छ । जबकी कार्यदलले शिक्षक दरबन्दी मिलानका लागि विद्यालयगत मौजुदा शिक्षक संख्या, दरबन्दी मिलानका लागि कायम हुने शिक्षक संख्या र थप दरबन्दीका लागि पुग्नुपर्ने न्यूनतम विद्यार्थी संख्या यकिन गर्नुपर्ने हुन्छ । तर कार्यदलको कुनैपनि छलफल र बैठक समेत नबसी शिक्षकहरुको काज सरुवा गरिएको छ ।

कार्यदलका सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले कार्यदलको बैठक बसेको आफुलाई जानकारी नभएको बताउनु भयो । उहा भन्नुहुन्छ “ हामी कर्मचारी हौं निति बनाउने भन्दा पनि जनप्रतिनिधिले बनाएको निति कार्यान्वयन गर्ने हो । ”

कार्यदलका संयोजक भिमकाजी गुरुङले कार्यदलको बैठक नबसिएको तर नगर शिक्षा समितिमा रहनु भएका साथीहरु विच छलफल गरिएको बताउनु भयो । उह भन्नु हुन्छ “ कार्यविधि अनुसार कार्यदलको बैठक नबसे पनि कार्यदलमा रहने ब्यक्तिहरु विच छलफल गरिएको छ । ”

कार्यदलका संयोजक र सदस्य सचिवको भनाईबाट पनि शिक्षक सरुवा कार्यविधि अनुसार नभएको प्रष्ट हुन्छ । कार्यदलले शिक्षक दरबन्दी मिलान यकिन गर्ने र अनुमोदनका लागि नगर शिक्षा समितिमा पेश गर्नुपर्ने कार्यविधिमा भएपनि त्यसो गरेको पाईएन ।

नगर शिक्षा समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने “ शिक्षा समितिको बैठकमा कार्यदलले कुनै सुचि पेश गरेन मेयर र उपमेयर ज्यूले नगरको शिक्षामा सुधार ल्याउँछौं भन्दा हामी विरोध नगरी समर्थन गरेका हौं । जुन कार्यविधि अनुसार मिलेको छैन । ” नगर शिक्षा समितिको बैठकमा शिक्षा समिति संयोजक एवं नगर प्रमुख सम्भुलाल श्रेष्ठले २२ जनाको सुचि पेश गर्नुभएको उहाले बताउनु भयो । नगर प्रमुखले २२ जनाको सुचि पेश गरे पनि २१ जना शिक्षकको मात्र काज सरुवा गर्ने निर्णय गरिएको छ ।

नगर प्रबक्ता सन्तबहादुर गाहाले शिक्षकहरुको काज सरुवा कार्यविधि अनुसार गर्न नसकिएको बताउनु भयो । उहा भन्नु हुन्छ “ नगरले शिक्षक सरुवाको निर्णय त ग¥यो तर हामीले नै बनाई स्थानिय राजपत्रमा प्रकासित भएको कार्यविधिलाई पूर्णरुपमा पालना गर्न सकेनौं । ”

दरबनदी मिलान कार्यविधि परिच्छेद २ को शिक्षक सरुवा काज तथा दरबन्दी मिलान सम्बन्धी ब्यबस्था अन्तरगत ४ (११) अनुसार कक्षा १ देखी कक्षा ५ सम्म संचालन भएका विद्यालयहरुलाई कम्तीमा एउटा स्थायि दरबन्दीको ब्यबस्था गर्ने उल्लेख छ । त्यस्तै १२ र १३ मा कक्षा ६ देखी ८ सम्म संचालन भएकोमा एक जना निमावि तहको र कक्षा ९, १० संचालन भएकोमा कम्तीमा १ जना मा.वि. तहको शिक्षक दरबन्दी स्थानान्तरण गर्ने उल्लेख छ ।

तर नगर भित्र रहेका ८ वटा आधारभुत तहका विद्यालयहरु मध्ये जम्मा २ वटा विद्यालयमा मात्र निमावि तहको दरबन्दी काज सरुवा गरिएको छ । मा.वि. तर्फ ११ वटा मा.वि. मध्ये राष्ट्रिय माविमा मात्रै मा.वि तहको दरबन्दी उपलब्ध गराईएको छैन । श्रोतका अनुसार हाल त्यहाँ प्रधानाध्यापको रुपमा कार्यरत रहेका शेषकान्त पौडेल अन्यत्र जान नमानेका कारण मा.वि तहको दरबन्दी पठाउँदा उनको प्र.अ पद जाने भएकाले मा.वि. को दरबन्दी नपठाईएको हो ।

शिक्षक सरुवा गरिएको प्रति नगर शिक्षक महासंघले असन्तुष्टि ब्यक्त गरेको छ । महासंघका अध्यक्ष सभ्यता प्रसाईले कुनै आधार र मापदण्ड विना आफुखुसी शिक्षक सरुवा गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ “ दरबन्दीका नाममा एउटै विद्यालयबाट ३/४ जना शिक्षकलाई आफुखुसी सरुवा गरिएको छ । ”

नेपाल शिक्षक संघ बर्दघाटका निवर्तमान अध्यक्ष पुर्णकान्त गिरीले कार्यविधिलाई लत्याउँदै शिक्षकलाई काज सरुवा गरेको बताउनु भयो । उहा भन्छन् “ नगरले बनाएको कार्यविधिको धज्जी उडाउँदै केही जनप्रतिनिधिले मनोमानी तरिकाले शिक्षक सरुवा गरे । ”
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षक सरुवामा कार्यविधि नहेरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ “ नगर प्रमुख ज्यूले प्रस्तावमा ल्याउनुभएको सुचिलाई पारित गरियो । ”

नगर प्रमुख सम्भुलाल श्रेष्ठले पूर्ण रुपमा कार्यविधि अनुसार शिक्षक सरुवा गर्न नसकिएको स्वीकार गर्नु भयो । उहा भन्नुहुन्छ” हामीले शिक्षक सरुवा गर्दा सकभर कार्यविधि अनुसार नितिलाई टेकेर गरेका छौं तर कहिँ कतै ब्यबहारीक पक्षलाई हेर्दै सहमतीका आधारमा समेत सरुवा गरेका छौं ।