sunwal

बर्दघाटको फोहोर ब्यवस्थापन ः रबि पाण्डेय

126

भुमिका
पश्चिम नवलपरासी जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ वटा पालिका छन् । पालिकाहरुले आ–आफ्नै नीति कार्यक्रम र बजेट अनुसार आफ्नो पालिकामा योजनाहरु संचालन गर्दै आएका छन् । लुम्बिनी प्रदेशको पुर्वी प्रबेशद्वार रहेको बर्दघाट नगरपालिका भने यसबेला धेरै प्रसंगले चर्चामा छ । ती प्रसंग मध्ये बिशेष गरेर फोहोर बर्गीकरण तथा हरियाली प्रबद्र्धन अभियान बर्दघाट नगरपालिकालाई चर्चामा ल्याउने एक सुचकका रुपमा प्रस्तुत भएको छ । देशैभर भएका असल अभ्यास मध्ये फोहोर मैला बर्गीकरण गरेर ब्यवस्थापन गर्ने अभ्यासको शुरुवात गरेर बर्दघाट नगरपालिकाले आफूलाई अरु पालिका भन्दा पृथक रुपमा उभ्याउन खोजेको देखिन्छ ।       स्थानीय तहको निर्वाचन पछि आएको नयाँ जनप्रतिनिधिहरुको टिम र त्यसपछि आउनुभएका प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको तदारुकताले बर्दघाटमा फोहोर बर्गीकरणले स्थान पाउदै गएको छ । केही सीमाहरुका बाबजुद पनि फोहोर बर्गीकरणमा बर्दघाटमा सकारात्मक दृष्टि देखिन्छ । यद्धपि फोहोर बर्गीकरणको बिषय उठान भने यहाँ यस अघि नभएका भने होइनन् ।

फोहोर बर्गीकरणको परिकल्पना

बि.सं २०६३ सालमा बर्दघाटमा सुवास पौडेलको नेतृत्वमा बर्दघाट ब्यवस्थापन समितिको स्थापना भयो । त्यस पछिका बर्षहरुमा बर्दघाट बजार विकास समितिले फोहोर मैला ब्यवस्थापन बारे पैरवी गर्दै आएको छ । खास गरेर बर्दघाट बजार विकास समितिको बि.स. २०६५ सालको अधिबेशनबाट निर्वाचित रुद्र प्रकाश उपाध्यायको नेतृत्वको समितिले निकै पहलहरु गरेको पाईन्छ ।
त्यस ताकाको समितिले बजारमा रहेका सम्पुर्ण ब्यवसायीहरुको भेला गर्नुका साथै सर्वदलीय सर्वपक्षीय भेला गर्दै ब्यवसायीहरुको हकहित मात्र नभई फोहोर मैला र ढल निकासका कार्यहरुमा तदारुकता देखाउदै विकास निर्माणका काममा समेत सक्रिय भुमिका खेल्यो । बर्दघाट बजार विकास समितिकै बिशेष पहलमा त्यसबेला माकर धुर्काेट बाटोका लागि अन्तरक्रिया भएको थियो । बर्दघाट बजारलाई उत्तरी चुरेका गाउँहरु संग जोड्ने महत्वपुर्ण छलफल त्यसै बखत भएको थियो । त्यस लगतै उक्त बाटोको सम्भाब्यता अध्ययनका लागि तात्कालिन माकर गाविसको नेतृत्वमा प्राबिधिक सहितको टोलीमा पत्रकारको तर्फबाट यो पंक्तिकार समेत बेणीमणिपुरको देउराली सम्म पैदल पुगेको मानसपटलमा ताजै छ ।
बजार विकास समितिको त्यो बेलाको टिम जुझारु र कामकाजी भएकै कारणले बिभिन्न योजनाहरुले स्थान पाउदै गयो । समितिले फोहोर मैला ब्यवस्थापन सम्बन्धि तालिम समेत आयोजना गरेर फोहोरमैलालाई रिक्सामा उठाएर लैजाने कार्य गर्नुका साथै बजारका बिभिन्न समस्याहरु लिएर सम्बन्धित कार्यालयमा २३ वटा डेलिगेसन समेत ग¥यो । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी कार्यालय सम्म तात्कालिन माकर गाविसको कार्यालय देखि नेपाल बिद्युत प्राधिकरण र ग्रामीण आवास कम्पनीसम्म यो समितिले समस्या लिएर गएको थियो । फोहोर मैला ब्यवस्थापनको दाङ अवलोकन भम्रण र चित्रकला प्रतियोगिता गर्दै यस समितिले फोहोरबाट गर्न सकिने बिभिन्न कार्यहरुको आधार खडा गरेको थियो ।
बि.स २०६६ साल बैशाख १ गते फोहोर मैला ब्यवस्थापन सम्बन्धि सचेतनामुलक पर्चा बितरण गरेर त्यो बेला जनचेतना बृद्धिमा समेत बजार समिति क्रियाशिल रह्यो । साथै सडकमा निर्माण सामाग्री राख्ने ब्यवसायीहरुलाई सम्झाई बुझाई गर्ने, अटेर गर्नेलाई सामाजिक कारवाही सम्म गर्ने, पुर्व पश्चिम लोकमार्गमा पन्ध पन्ध मिटर र त्रिवेणी सडक अन्तरगत दश दश मिटर सडक खाली गर्ने अभियान संचालन भएको थियो ।

प्राक्टिकल एक्सन नेपाल (एन्फो)संग कार्यक्रम सम्झौता गरेर समितिले कार्यक्रम गर्दै प्रतिघर २० रुपैया , ब्यवसायीलाई ३० रुपैया,संघसंस्था र सरकारी कार्यालयलाई १०० रुपैया र धेरै फोहोर उत्पादन गर्नेलाई ५० देखि ५०० सय रुपैया मासिक रकम संकलन गर्दै आएको थियो । समितिमा त्यो बेला २ जना कर्मचारी कार्यरत थिए ।

समितिको बि.स.२०६६ माघ १९ गते भएको दोस्रो साधारण सभामा फोहोर मैला बर्गीकरणका लागि समितिको तर्फबाट अध्यक्ष उपाध्यायले यस्तो प्रस्ताव गरिएको पाइन्छ । फोहरलाई समयमा ठिक संग ब्यवस्थापन गर्न नसक्दाँको परिणाम हामीले सुन्ने र भोग्ने गरेका छौ । सकेसम्म फोहोरलाई फोहर निस्कने ठाँउबाट न्युनीकरण गर्ने, निस्केको फोहोरलाई गल्ने र नगल्ने गरी दुई भागमा छुट्याउने र गल्ने फोहोरबाट कम्पोष्ट मल तयार गर्ने तथा नगल्ने मध्ये पुनः प्रयोग गर्न सक्नेलाई छुट्ट्याई बाँकीलाई खाल्डोमा पुर्ने हाम्रो लक्ष्य हो । यस लक्ष्यलाई पुरा गर्नका लागि डम्पिङ्गसाइडमा कम्पोष्ट मलको चेम्बर र छुट्ट्याउने तथा संकलन गर्नका लागि भुई पक्की भएको एकवटा गोदामघर निर्माण गर्न अत्यावश्यक रहेकोले सर्मथनका लागि सभा समक्ष प्रस्ताव गर्दछु । बि.स २०६७ मा सम्पन्न बजार समितिको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशन सम्म आउदाँ माकर गाविसको टेक्टरमा फोहोर संकलन गर्ने सर्बदलीय निर्णय कार्यान्वयन भएको देखिन्छ । यसरी आज भन्दा करिब १३ बर्ष अघि बर्दघाट बजारवासीले फोहोर मैला ब्यवस्थापनमा पहिलो कदम चालेका थिए । यो ऐतिहासिक कदमलाई बजार समितिको नेतृत्व गर्दै आउनुभएका राजु पाण्डे,छविलाल देवकोटा,शोभाकान्त कोइराला (शिव)को कार्यकालमा फोहोर संकलनको पाटोलाई निरन्तरता दिदै सुधारका काम हरु भएको समेत देखिन्छ । त्यसमा पनि बि.सं २०७२ देखि २०७७ सम्म बर्दघाट बजार विकास समितिमा कोइराला नेतृत्वको दुई कार्यकालमा फोहोर संकलन शुल्कबाट संस्थालाई आर्थिक संकलन गरेर बलियो बनाउने पाटो निकै महत्वपुर्ण रहेको थियो । साथमा टिप्परबाट फोहोर संकलन गर्ने लगायतका कामहरु समेत यही बेलादेखि थालनी भएको हो । बर्दघाट बजार विकास समिति (२०७५–२०७७)का सचिव बिष्णु पराजुलीले फोहोर मैला ब्यवस्थापन बारे अध्ययन गर्दै त्यसबेला एक प्रतिबेदन समेत पेश गरेकोले योजनाको सन्र्दभमा यो कार्यकाल निकै गहन रहेको छ । पराजुलीको प्रतिबेदन अनुसार संकलित फोहर मध्ये सड्ने फोहोर ७० प्रतिशत,प्लाष्टिक ९.५,कागज ९.१ प्रतिशत,नसड्ने ६ प्रतिशत, पुनः प्रयोगमा आउने २.५ प्रतिशत , शिशाजन्य २.१ र फलाम ०.८ रहेको छ ।
नगरले बर्दघाट, पंचनगर, दाउन्नेदेवी र जहदा गरेर ४ वटा कलष्टरमा फोहोर ब्यवस्थापनको कार्य गर्ने योजना ल्याएको छ । सुर्य ज्योति युवा कल्बले बर्दघाट–२ मा फोहोर संकलन गर्दै आएको छ । बर्दघाट, पंचनगर,जिमिरेभार,भटौलिया बजार विकास समिति यस अभियानमा जोडिएका छन् । नगरले बर्दघाट उद्योग बाणिज्य संघलाई समेत यस अभियानमा निरन्तर संम्लग्न गराउनुपर्ने देखिन्छ ।

निरन्तरताको क्रमभंगता

फोहोर व्यवस्थापनको पहिलो र मुख्य उपाय फोहोर कम उत्पादन गर्ने हो । फोहोरलाई एकै ठाउँमा नराखेर उत्पादन हुने स्रोतमै वर्गीकरण गर्न सकियो भने मात्र फोहर ब्यवस्थापनले सार्थकता पाउनेछ । यतिबेला बर्दघाट बजार विकास समितिका अध्यक्ष ताराप्रसाद गौतम नेतृत्वको समितिले बर्दघाट नगरपालिकालाई फोहोर ब्यवस्थापनमा निःसन्देह साथ दिदै आएको छ । पारिजात सामुदायिक वन उपभोक्ता समुह , बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालगायतको यसमा निकै प्रभावकारी समर्थन छ ।

फोहोर ब्यवस्थापन अब नगरपालिकाको जिम्मेवारी मात्र रहेन् । यसमा नगरवासीहरुको साझा ऐक्यबद्धता र क्रियान्वयनको समिश्रण आवश्यक छ ।

त्यसैले फोहोर बर्गीकरणका लागि नगरवासीलाई सरोकारवालाले सचेत गराउदै घरघर पुगेर फोहोर बर्गीकरणका उपायबारे जानकारी गराइरहेको छ त्यो निकै प्रभावकारी देखिन्छ । जसको समस्या हो जसको सवाल हो उसैले समाधान नखोज्ने हो भने कुनैपनि कामले गति लिन सक्तैन् । बिगतको निरन्तरता प्रति हामीले ध्यान दिदै फोहोर ब्यवस्थापनमा क्रमभंगता ल्याउन सक्नु आजको अपरिहार्यता हो । ईतिहासले दिएको यो जिम्मेवारीबाट हामी कोही पछि हट्नु हुदैन् । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बिगतमा खानेपानी तथा सरसफाईको क्षेत्रमा नेतृत्व दिएर नगर उपप्रमुख हुनुभएका रुद्रप्रकाश उपाध्याय, बिभिन्न नगरपालिकामा कुशल प्रशासनिक नेतृत्व गर्दै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा ,सबै जनप्रतिनिधि , आम नगरवासी एंव सरोकारवालाको युनिफाइड कमाण्डले मात्र यो कामलाई फत्ते गर्न सक्दछ ।

सन्दर्भ सामाग्रीहरु –
बर्दघाट बजार विकास समितिका प्रतिबेदनहरु 
बिष्णु पराजुलीद्वारा लिखित फोहोर ब्यवस्थापन सम्बन्धि प्रतिबेदन