sunwal

सामुदायिक विद्यालयको अवस्था,ब्यवस्था र प्रभावकारीताको नितिगत सुधार किन हुन सकेन ?

137

कुस्माकर ढकाल (कृष्ण)

नवलपरासी जिल्लाको शिक्षा क्षेत्रमा एउटा ईतिहास बोकेको बर्दघाट–४ बर्दघाटको दाउन्नेदेवि माध्यामिक विद्यालय,बर्दघाटले आफ्नो स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोह २०७९ पौष २१ देखि २५ सम्म बिभिन्न कार्यक्रमहरु गरी मनाईरहदा यस विद्यालयको अवस्था,ब्यवस्था र प्रभावकारीतासंगै विद्यालयको शैक्षिक सुधारका सवालमा कत्तिको योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ ? सरोकारबालाहरुसंग सहकार्य गरेर अघिबढ्ने र शैक्षिक रणनिति बनाउने कार्यमा कस्ता योजनाहरु समावेस गरीएको छ ? यि सबै कुराहरुको उचीत ब्यवस्थापनगर्दै अघिबढेको खण्डमा अवश्यपनि दाउन्नेदेवि माध्यामिक विद्यालय,बर्दघाटले आफ्नो स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोह सम्म आईपुग्दा यसक्षेत्रको शैक्षिक सुधारका लागि दा.दे.मा.बि.ले महत्वपूर्ण योग्दान दिएको ठहरीने छ अन्यथा विद्यालय संचालनको निरन्तरता मात्र रहेको महशुस गर्नु वाहेक अरु केहि हुनेछैन ।

दा.दे.मा.बि.मा अध्ययन गरेका कतिपय पूर्व बिद्यार्थीहरु अहिले राज्यको निति निमार्ण तह देखि स्थानिय सरकार संचालनको जिम्मेवार निकायमा रहेर ईमान्दारी पूर्वक आफ्नो दायित्व निभाई रहेका छन् । कतिपय सामाजिक क्षेत्रमा क्रियाशिल छन त कतिपय उद्योग,ब्यापार, ब्यवसाय संचालन गर्ने र वैदेशक रोजगारीमा गएर पनि समाज सेवामा समर्पित भएका पनि छन । जहां जसरी रहेपनि उनीहरुले आफुलाई समय अनुकुल परिर्वतन गरी रहेका छन । तर यो विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुष्णस्तरमा कत्तिको परिर्वतन आयो ? ति पूर्व विद्यार्थीहरुको सिप, कला ,ज्ञानको सदुपयोग गर्नका लागि यस विद्यालयले उनीहरुलाई कसरी कस्ता योजनाहरु मार्फत सम्झीयो या सम्झीएन ? कि जानेन भन्ने बिषय पनि एउटा बहसको विषय भन्न सक्छ । जे भएपनि आफ्नो विद्यालयवाट उत्पादित राजनितिज्ञ,बौद्धिक तथा समाजीक एवं सफल ब्यवसायिक पूर्व विद्यार्थीहरुको साथ र सहयोग लिएर विद्यालयको वर्तमान अवस्था,ब्यवस्था र प्रभावकारीता समयानुकुल बदल्न जरुरी छ ।

स्थानिय सरकारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन तथा सर्वसुलभ र प्रभावकारी बनाउन धेरै नै प्रयास गरेको छ । तर स्थानिय सरकारको प्रयाससंगै विभिन्न आयोजना तथा परियोजनाहरु मार्फत पनि विभिन्न तरिकाले लगानी भएको छ । यति लगानी र प्रयत्न हुंदा पनि सरकारी विद्यालय छोडेर निजी तथा संस्थागत विद्यालयमा भर्ना गर्ने गराउनेको घुईचो लागि नै रहन्छ त्यसैले सामुदायिक विद्यालयमा शैक्षिक गुणष्तरको अभाव छ त्यो पुरा गर्न सरोकारवालाहरु एक हुनुवाहेक अर्काे विकल्प छैन ।

यता सामुदायिक विद्यालय महासंघ बर्दघाट नगरले सरकारी सेवा सुविद्या लिएकाहरुले आफ्ना सन्तान अब सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने अन्यथा सामुदायिक विद्यालयको शैक्षिक सुधार नहुने भन्दै आन्दोलन गर्ने र ज्ञापन पत्र बुझाउने गरेको छ । तर त्यसको सुनुवाई हुन सकेको छैन । आखिर किन त? स्थानीय सरकारको शिक्षा ऐन यस विषयमा मौन छ । शिक्षा ऐनमा नै नभएको र राख्न नचाहेको वा रबाब,दबाब र प्रभाबमा परेको हो यस बिषयमा अब सरोकारवालाहरुले बहस तथा छलफल गरेर निशकर्षमा पुग्नु पर्ने देखिन्छ ।

अर्काे तर्फ स्थानिय,प्रदेश र संघिय सरकारले राम्रै लगानी गरेका बर्दघाट नगरका कतिपय सामुदायिक विद्यालयहरुमा किन राम्रो नतिजा आउन सकेन वा सामुदायिक विद्यालय राम्रो नहुनुमा के सरकार मात्र जिम्मेवार हो त ? किन दिनप्रति दिन सरकारी विद्यालयमा विद्यार्थी संख्या ओरालो लाग्दैछ ? किन अभिभावकनिःशुल्क पाउने शिक्षालाई छोडेर महिनाको २–४ हजारदेखि १०–१५ हजारसम्म तिर्न तयार भएका छन ? किन बर्दघाट नगरका सामुदायिक विद्यालयहरु छोडेर अन्यपालिका विद्यालयहरुमा बिद्यार्थीहरु पढ्न गएका छन यसप्रति सरोकारवालाले अहिले सम्म शैक्षिक बहस र कार्यक्राहरु संचालन गर्न किन सकेन ? सामुदायिक विद्यालयहरुको संस्थागत सक्षमता अभिवृद्धि गर्ने र कक्षागत विद्यार्थी प्रोफाइल निर्माण, सिकाइ उपलब्धि वृद्धि गर्ने,विद्यालय छाड्ने दर घटाउने, उत्तीर्ण प्रतिशत शतप्रतिशत बनाउने, विद्यार्थी नियमिततामा जोड दिने जस्ता कार्यलाई जोड तोडका साथ लागु गर्न नसकेकै कारण समस्या आएको हुन सक्छ । यसप्रति पनि चांसो र गुनासो गर्नेमात्र हैन अब नितिगत बहसको जरुरी छ ।

सामुदायिक विद्यालय किन राम्रो भएन भन्नेमा सबैको आ–आफ्नै बुझाइ छ ? सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न, अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको प्रयासले मात्र सम्भव हुन्छ
तर बर्दघाट नगरमा एक अर्कोको समन्वय र परामर्श भन्दा पनि एकले अर्कोलाई दोषारोपण र खिचातानीमा समय बेतित गर्ने गरेको यथार्थ लुक्दैन र सामुदायिक विद्यालयका धेरै शिक्षक स्वयम् आफैले अध्यापन गर्ने विद्यालयमा आफ्ना बच्चालाई पढाउन छाडेर निजी विद्यालयमा भर्ना गर्छन् ? उनीहरुलाई नै आफुहरुले पढाएको आफ्नो शैक्षिक गुणष्तरको विश्वास नभएर निजि तथा संस्थागत विद्यालयमा आफ्ना बाल बालिकाहरु पढाउन पठाएपछि यसले समुदायमा कस्तो प्रभाव परेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ । यो एउटा मुख्य चुनौतीको विषय हो भने अर्कोतिर शिक्षकको गुणस्तर र क्षमतामा अभिभावक र सरोकारवालाले प्रश्न र आलोचना गर्नु पनि स्वभाविक हो । यसप्रति सरोकारवालाहरुको दृढ इच्छा शक्ति र दरो राजनीतिक प्रतिवद्धताको आवश्यकता पर्दछ ।

त्यत्तिमात्र हैन संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको छ । तर, कार्यान्वयन भएको छैन । विभिन्न बाहानामा विद्यार्थीसंग विद्यालयहरुले शूल्क असुल्ने काम चलिरहेको छ । आफ्नो नगरका सामुदायिक विद्यालयको अवस्था,ब्यवस्था र प्रभावकारीतालाई कसरी ब्यवस्थापन गर्ने भन्ने वारेमा सारेकारवालहरुसंगको छलफल,नितिगत सुधार र विद्यालयहरुको अनुगमन प्रणाली प्रभावकारी बनाउन सक्ने हो भने बर्दघाट नगरका सामुदायिक विद्यालयहरुको अवस्था,ब्यवस्था र प्रभावकारीतामा सुधार आउन सक्छ अनि मात्र स्थानिय सरकार र सामुदायिक विद्यालयहरुसंगको समन्वयको अभाव हट्ने र नगरको शैक्षिक गुणस्तर सुधारमा समेत थप प्रभावकारी भएर जाने देखिन्छ ।

@ दाउन्नेदेवी दर्पण स्वर्ण जयन्ती स्मारीकामा प्रकाशीत