बर्दघाट,माघ–६
बर्दघाट नगरपालिकाले चालु आर्थिक बर्षको हालसम्म २ करोड ०४ लाख ७३ हजार ९ सय २४ रुपैया राजस्व असुली गरेको जनाएको छ । शुक्रबार भएको नियमित मासिक पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । भेटघाटको चौथो संस्करणमा नगरपालिकाले अर्धबार्षिक प्रगतिका रुपमा ४६.८५ प्रतिशत आन्तरिक राजस्व असुली भएको बताएको छ ।
नगरले वाणिज्य र उद्योग गरि ५१ वटा फर्म दर्ता र १०८ वटा ईरिक्सा र ९३ वटा टेम्पोहरु दर्ता भएको नगरपालिकाले जनाएको छ । पौष मसान्त सम्म आर्थिकमा चालुतर्फ करिव ३८ प्रतिशत र पुजीगत तर्फ करिव १५ प्रतिशत खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ ।
नगर कार्यपालिका प्रवक्ता सन्त बहादुर गाहाले पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिनुभएको हो । कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले फोहोर वर्गीकरण सम्बन्धी कार्य योजना स्वीकृत गरेको उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक बर्षको अन्तिम लेखा परिक्षण गर्ने कार्य सम्पन्न भएको जानकारी गराउनुभयो ।
सो अवसरमा स्थानीय न्यायिक समितिमा परेका उजुरी मध्य १५ उजुरी समाधान गर्न बाँकी रहेको जानकारी दिइएको थियो । कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायसमेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाले आधारभुत तहमा आफ्नै पाठ्यपुस्तक लागु गरि कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको शिक्षा शाखा प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभएको थियो । उहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत हुनुहुन्छ ।
कार्यक्रममा समाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले नगरका सेवाग्राहीलाई मुस्कान सहितको सेवा चुस्त र दुरुस्त समयमै उपलब्ध गराउन नगरका सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिएको बताउनुभयो ।
सुचना अधिकारी समेत रहनुभएका योजना शाखा प्रमुख पुस्कर काफ्लेले नगरको योजना ब्यवस्थापन तथा अन्य सेवा प्रवाह तर्फ २ सय ३७ योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भइरहेको, ४० योजनामा माग अनुसार उपभोक्ता समितिलाई पेश्की उपलब्ध गराइएको जानकारी गराउनुभयो ।
कार्यक्रममा लेखा अधिकृत बिष्णुलाल पुरीले नगरमा रहेको पेश्की बेरुजुको अवस्था बारे जानकारी दिनुभएको थियो । त्यस्तै नगरपालिकाले कुल ७ सय ७१ जना अव्यस्थित बसोबासी, भुमिहिन सुकुम्बासी तथा भुमिहिन दलितहरुको फारम कम्प्युटरमा प्रणालीमा प्रविष्ट समेत गरेको जनाएको छ ।
कार्यक्रमको संचालन कृष्ण थापा क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।