Sarawal sit lahar Notis

बर्दघाट नगरमा नव दिव्य ज्योतिले उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्यो

108

रवि पाण्डेय

बर्दघाट,पौष–१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गत शैक्षिक सत्रमा कक्षा पाँचमा अध्ययरत बिद्यार्थीहरुको सिकाई उपलब्धि मापन गर्ने कार्य सम्पन्न गरेको छ । नगरक्षेत्रमा रहेका ३७ वटा सामुदायिक बिद्यालय मध्ये कक्षा पाँच संचालन रहेका ३४ वटा बिद्यालयका बिद्यार्थीहरुलाई प्रमुख पाँच बिषयमा शैक्षिक सत्र– २०७८ मा उपलब्धि मापन परीक्षा गरिएको थियो ।
उक्त मापन परिक्षामा बर्दघाट–४ दिब्यनगरमा रहेको नव दिब्यज्योति आधारभुत बिद्यालयले तुलनात्मक रुपमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेको छ । कक्षा ६ सम्म अध्ययन हुने सो बिद्यालयले नगरका सबै बिद्यालयलाई उछिन्दै सिकाई उपलब्धिमा आफूलाई उत्कृष्ट स्थानमा राखेको हो ।
नेपाली , अग्रेजी, गणित , बिज्ञान र सामाजिक बिषयमा गरिएको सिकाई उपलब्धि मापन परिक्षाको यसै साता बिष्लेषण कार्यक्रम समेत भएको हो । बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक सत्र– २०७८ को कक्षा ५ को उपलब्धि मापन परीक्षा फरक बिद्यालयका शिक्षकहरु पठाएर गरेको थियो । बिषय शिक्षकबाट प्रश्न पत्र निर्माण गरेर बिधिपुर्वक सिकाई उपलब्धि मापन परिक्षा गरिएको शिक्षा युवा तथा खेलकुद शाखा ले जनाएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव लोकराज पन्थीले सिकाई उपलब्धि मापन परिक्षाले नगरको शैक्षिक गतिबिधिलाई मार्ग निर्देशन गर्ने भएकोले यसको बिश्लेषणका आधारमा शैक्षिक योजना बनाउन सहज हुने बताए । हामीले एउटा असल शुरुवात गरेका छौ , यसले पक्कै पनि हामीलाई पृष्ठपोषण दिनेछ, त्यसबाट आगामी शैक्षिक योजना बनाउन सहज समेत हुनेछ – हाल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका पन्थीले भने –शैक्षिक सुधारका लागि यो शुरुवात मात्र हो । पक्कै पनि यस कार्यबाट सबै बिद्यालयको सिकाई उपलब्धि सुधार हुन्छ ।
उपसचिव पन्थीले सिकाई उपलब्धि परिक्षाले शैक्षिक क्षेत्रमा प्रोत्साहन मिल्नेमा आफू विश्वस्त रहेको बताए । शैक्षिक सत्र २०७८ को कक्षा ५ को उपलब्धि मापन परीक्षामा बर्दघाट–४ दिब्यनगरमा रहेको नव दिब्यज्योति प्राविले उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । नव दिब्यज्योति स्कुल कक्षा ५ को उपलब्धि मापन परीक्षामा उत्कृष्ट देखिएको छ –उनले भने – अब समग्र नतिजाको बिश्लेषण समेत गरिएको छ । त्यसैका आधारमा सबै बिद्यालयले राम्रो गर्नेमा आशावादी छौं ।
उपसचिव पन्थीले अनुसार नव दिब्य ज्योति बिद्यालयमा भने पाँच वटै प्रमुख बिषयमा ६० प्रतिशत माथि सिकाई उपलब्धि देखिएको जानकारी गराए । त्यस्तै गुणस्तरीय शिक्षाका लागि नगर फरक ढंगले लागेको बताउदै पन्थीले यस कार्यबाट अब सबैलाई उत्पे्ररणा हुने बताए ।
नव दिब्य ज्योतिले अग्रेजीमा सबैभन्दा बढी ७९.५ प्रतिशत सिकाई उपलब्धि हासिल गरेको छ भने सबैभन्दा कम बिज्ञानमा ६१.५ प्रतिशत रहेको शिक्षा युवा तथा खेलकुद शाखाको तथ्यांकमा उल्लेख छ । त्यस्तै नेपालीमा ७० , गणितमा ७४ , सामाजिकमा ६८ प्रतिशत सिकाई उपलब्धि गरेको छ ।
त्यस्तै शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत गोबिन्द शर्माका अनुसार नगरमा रहेका सामुदायिक बिद्यालयको कक्षा पाँचको सिकाई उपलब्धिको औसत क्रमशः नेपाली बिषयमा ५२,अग्रेजीमा ६०.६ गणितमा ३२ बिज्ञानमा ४३.२६ र सामाजिक बिषयमा ४४.२५ प्रतिशत रहेको छ । औषत सिकाई उपलब्धिमा सबैभन्दा कमजोर स्थिति गणित बिषयमा रहेको छ भने अग्रेजी बाहेक कुनै पनि बिषयमा ६० प्रतिशत सिकाई उपलब्धि देखिएको छैन् ।
नव दिब्य ज्योति आधारभुत बिद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले सिकाई उपलब्धि मापनले आफूहरुलाई खुसी लागेको बताइन् । उनले बिद्यालयमा सिमित साधन स्रोतका बीच भएको शिक्षण सिकाई क्रियाकलापबाट आएको नतिजाले बिद्यालय परिवारलाई हर्षित बनाएको जानकारी दिईन् । यो हाम्रा लागि एउटा उत्प्रेरणा हो, तर यसैबाट पुर्ण सन्तुष्ट भइहाल्ने कुरा होइन –उनले भनिन् – हामीले धेरै गर्न सक्छौ, अझै गर्न सक्छौ भन्ने नै हो ।
प्रधानाध्यापक भट्टराईले उत्कृष्ट सिकाई उपलब्धि आउनुमा बिद्यालयका सबै सरोकारवालाको योगदान रहेको बताइन् । शैक्षिक सत्र– २०७८ मा कक्षा पाँचका प्रमुख पाँच वटा प्रति बिषयमा २० पुर्णाक सहित कुल १०० पुर्णांकको मापन परिक्षा गरिएको थियो ।