कार्तिक–२८
पत्रकार रामकृष्ण भण्डारीले विगतको ३० वर्ष यताका २८ सरकारका नालीबेलीलाई समेटेर सत्ता सङ्घर्ष नामक पुस्तक प्रकाशन गर्नु भएको छ । पत्रकार भण्डारीले लेख्नुभएको उक्त पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ ।
पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण र राजनीतिक व्यक्तिसँग प्रत्यक्ष कुराकानी गरेका, देखेका र भोगेकाहरुसंगको अनुभवलाई समेटेर उक्त पुस्तक तयार गर्नु भएको छ ।
रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुने पुस्तक लेखक एवं पत्रकार भण्डारीको भनाई रहेको छ ।
पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ ।
०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनःस्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थिरताको दलदलमा फस्यो । ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने । यिनै २८ सरकारको नालिबेली लाई समेटेर आफुले सत्ता सङ्घर्ष नामक पुस्तक प्रकाशन गरेको पत्रकार भण्डारीले बताउनु भएको छ ।
यो पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ ।
नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ । सत्ता सङ्घर्ष नामक पुस्तकका लेखक पत्रकार भण्डारी कान्तिपुर टेलिभिजनमा कार्यरत रहनु भएको छ ।